‘सगरमाथा म्युजिक अवार्ड २०८२’मा अश्विनी सम्मानित

फिल्म । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित हालै काठमाडौंमा सम्पन्न ७औँ संस्करणको ‘सगरमाथा म्युजिक अवार्ड २०८२’मा फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’द्वारा सम्मान गरिएको छ। मोडलिङ क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

संगीत र ग्ल्यामर क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा झाको योगदानको खुलेर प्रशंसा गरिएको थियो। सम्मान ग्रहण गर्दै झाले आफूले मोडलहरूलाई केवल सुन्दर देखिने मात्र होइन, अभिव्यक्ति र प्रस्तुति प्रभावकारी बनाउनेतर्फ केन्द्रित भएर काम गर्दै आएको बताए। उनले यो सम्मानले थप जिम्मेवारी महसुस गराएको उल्लेख गरे।

अश्विनी कान्त झा लामो समयदेखि मोडलहरूको तालिम, ग्रुमिङ र व्यक्तित्व विकासमा सक्रिय छन्। उनले तयार पारेका मोडलहरू र्‍याम्प र फोटोसुटसँगै म्युजिक भिडियोहरूमा पनि प्रभावकारी रूपमा प्रस्तुत हुँदै आएका छन्। उनका प्रशिक्षार्थीहरू क्यामेराअघि र पछाडि दुवै अवस्थामा सक्षम देखिने भएकाले निर्देशकहरूका लागि काम गर्न सहज हुने गरेको बताइन्छ।

उनी यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड तथा सम्मानबाट सम्मानित भइसकेका छन्। राष्ट्रिय नाचघर, जमलमा सम्पन्न उक्त कार्यक्रममा सितारवादक विजया शर्मालाई ‘सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड’ नगद रु. १७,६९६ सहित प्रदान गरिएको थियो।

त्यस्तै, पत्रकार ध्रुव लम्साललाई नगद रु. ८,८४८ सहित ‘सगरमाथा कला पत्रकारिता रजत सम्मान’, सञ्चारकर्मी शिरोमणि दवाडीलाई ‘सगरमाथा रेडियो पत्रकारिता सम्मान’, गीतकार खेमनाथ दाहाललाई ‘संगीत सम्मान’, रामराथा थापालाई ‘सगरमाथा समाजसेवा सम्मान’, कार्यक्रम व्यवस्थापक संघ नेपालका अध्यक्ष राजेन्द्र लुइँटेललाई ‘सगरमाथा सम्मान’, गीतकार लोकराज अधिकारीलाई ‘सगरमाथा संगीत सम्मान’, राजन बुढाथोकीलाई ‘सगरमाथा कला सम्मान’ र राजेन्द्र थापा मगरलाई ‘सगरमाथा सम्मान’ प्रदान गरिएको थियो।

कार्यक्रममा संगीत क्षेत्रमा क्रियाशील कलाकारहरूलाई विभिन्न विधागत प्रतिस्पर्धामा उत्कृष्टता हासिल गर्ने विजेताहरूलाई समेत अवार्ड प्रदान गरिएको थियो।

कमेन्ट गर्नुहोस्