सौन्दर्य । काठमाडौँमा लामो समयदेखि मेकअप आर्टिस्टका रूपमा सक्रिय रहेकी रेनु पुन मगर (जमुना पुन मगर) ले गोंगबुस्थित टोखा रोडको नर्थ पार्क प्लाजामा ‘जे एन्ड जे युनिसेक्स सलुन एन्ड क्याफे’ औपचारिक रूपमा शुभारम्भ गरेकी छन् । उक्त आधुनिक सुविधासम्पन्न उक्त सलुन तथा क्याफेको अभिनेता धिरेन शाक्य, सौन्दर्यकर्मी कमला श्रेष्ठ, र्यापर निर्णय एनएचके तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले बुधबार संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका हुन् ।
कार्यक्रममा सलुन तथा क्याफेका सञ्चालक ज्याक बुढाथोकीले नर्थ पार्क प्लाजा र आसपासका ग्राहकलाई लक्षित गर्दै सलुनसँगै क्याफे सञ्चालनमा ल्याइएको जानकारी दिइन् । ‘जे एन्ड जे युनिसेक्स सलुन एन्ड क्याफे’ की अध्यक्ष तथा मेकअप आर्टिस्ट रेनु पुन मगरले महिला र पुरुष दुवैका लागि सौन्दर्य, हेयर, स्किन तथा मेकअपसम्बन्धी अन्तर्राष्ट्रिय स्तरका सेवा सुरु गरिएको र उद्घाटन अवसरमा विशेष छुटको व्यवस्था गरिएको बताइन् ।
अभिनेता धिरेन शाक्यले आफू सौन्दर्यप्रति सजग रहेको र युनिसेक्स पार्लरमा नियमित रूपमा जाने गरेको उल्लेख गर्दै आधुनिक सेवायुक्त यो सलुनलाई आफ्नो सौन्दर्यको नयाँ गन्तव्यका रूपमा लिने बताए । उनले रेनुलाई सफलताको शुभकामना पनि दिए ।
वरिष्ठ ब्युटिसियन कमला श्रेष्ठले १६ वर्षअघि आफूसँग मेकअप सिकेर यो क्षेत्रमा प्रवेश गरेकी रेनु आज सफल मेकअप आर्टिस्टका रूपमा स्थापित भएको बताइन् । उनले रेनुले भव्य सलुन सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै नयाँ पुस्तालाई पनि यो क्षेत्रमा आउन आग्रह गरिन् ।
सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले पछिल्लो समय ब्युटिसियन पेसा प्लस टु पाठ्यक्रममा समावेश भएको उल्लेख गर्दै ‘जे एन्ड जे युनिसेक्स सलुन’ले आधुनिक सेवा दिने विश्वास व्यक्त गरे । कार्यक्रममा गायिका मञ्जु पौडेलले रेनुको संघर्ष र सफलताको यात्रा बारे प्रकाश पारिन् भने रेनुकी आमाले नयाँ सलुनको सफलताको कामना गर्दै शुभाशीर्वाद दिइन् ।
विगत दुई दशकदेखि सौन्दर्य क्षेत्रमा सक्रिय रहेकी रेनु पुन मगरले आफ्नै गाउँ गुल्मीबाट ब्युटिसियन पेसा सुरु गरेकी थिइन् । त्यसपछि काठमाडौं आएर विशेष प्रशिक्षण लिई मेकअप स्टुडियो हुँदै अहिले ‘जे एन्ड जे युनिसेक्स सलुन एन्ड क्याफे’ सञ्चालनमा ल्याएकी हुन् ।








