फिल्म । अभिनेता राजेश हमालले पहिलोपटक भूमिका परिवर्तन गर्दै बेलायतमा हुने ‘लाफ्टर फर लाइफ’ नामक कार्यक्रममा ‘स्ट्याण्डअप कमेडी’ गर्ने भएका छन् । यसका लागि अभिनेता हमाल कलाकार सन्दीप क्षेत्रीसँग बेलयात पुगिसकेका छन् । कार्यक्रम अगाडि आयोजना गरिएको पत्रकार सम्मेलनमा कलाकार क्षेत्रीले आफूहरू चार महिनाको तयारीपछि कार्यक्रम गर्न तयार भएको बताए ।
‘राजेश दाइसँग नजिक रहेर संवाद गर्नुहुनेले उहाँको ‘सेन्स अफ ह्युमर’ लाई राम्रोसँग बुझ्नुभएको छ । त्यसकारण मलाई कार्यक्रम गर्न प्रस्ताव आएपछि केही फरक गरौँ भनेर मैले नै सोच बनाए । मैले राजेश दाईलाई कार्यक्रम बारे सम्पूर्ण बेलिबिस्तार लगाएपछि उहाँ पनि नयाँ रुपमा प्रस्तुत हुन् तयार हुनुभयो’, कलाकार क्षेत्रीले भने ।
उनले स्टेजमा पहिला आफूले प्रस्तुती दिने,त्यसपछि अभिनेता हमाल र पुनः दुईको प्रस्तुती रहने जानकारी दिए । कलाकार क्षेत्रीले यो कार्यक्रम पश्चात अन्य देशमा पनि आफू दुईको प्रस्तुती रहने जानकारी दिए।
कलाकार क्षेत्रीले उक्त कार्यक्रममा गायक नवीन के भट्टराई र उहाँको सांगीतिक समूह ‘अतृप्त’ ले गीतसङ्गीत प्रस्तुत गर्नुहुने जानकारी दिए । बेलायतस्थित लन्डन ह्यारोमा हुने उक्त कार्यक्रमलाई स्थानीय माया इभेन्ट्सले आयोजना गरेको हो । कार्यक्रम आज अप्रिल २७ मा स्थानीय समय अनुसार साँझमा हुनेछ ।











