कविताको ‘मेरो कविताको शीर्षक छ’ लोकार्पण

फिल्म । फिल्म ‘बोबी’की अभिनेत्री कविता गुरुङको कविता संग्रह ‘मेरो कविताको शीर्षक छ’ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच कविता संग्रह सार्वजनिक गरियो । कार्यक्रममा अभिनेत्री गुरुङले आफ्नो जीवनका भोगाइका अनुभवहरु कविता मार्फत् उतारेको बताइन् । ‘म राम्रो कवि, साहित्यकार होइन । आफूले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मनलागेकोले सार्वजनिक गरेकी हुँ’ अभिनेत्री गुरुङले भनिन् ।

गुरुङले सार्वजनिक गरेको संग्रहमा १० वटा कविता छन् । आगामी दिनमा अन्य कविता समेत थपेर पुस्तकमा ल्याउने सोच छ । नर्वेमा बस्दै आएकी अभिनेत्री गुरुङ कविता सार्वजनिकका लागि मात्रै केही दिन अगाडि नेपाल आएकी हुन् । ‘भोलिका दिन म नरहुँला, समयले नदेला, ममा जोस नहोला, मेरो कविता त्यतिकै थन्किएर बस्ला’, उनले अगाडि थपिन् ‘जे जति कविता तयार भए । ती सुनाउनुपर्छ, देखाउनुपर्छ भनेर नेपाल आएकी हुँ ।’ अगामी दिनमा पनि कविता लेखनलाई निरन्तरता दिने सोच आफ्नो रहेको उनले सुनाइन् ।

‘जव मलाई मनले, भोगाइले कविता लेख भन्छ लेख्छु’, गुरुङले थपिन् ‘मैले पहिलो चोटी ‘बोबी’ फिल्म अभिनय गरेँ । मिडियाका साथीभाइले राम्रोसँग साथ दिनुभयो । गत वर्ष पुस्तक ल्याए । त्यसमा पनि साथ पाएँ।’ पटकपटक साथ र सहयोग गर्नेसँग भेट्न कविताको बहानमा नेपाल आएको उनको भनाइ थियो । पहिलो पटक कोरेको कविता श्रीमान्लाई सुनाउँदा राम्रो भनेकोले अन्य कविता पनि आफूले कोरेको उनको भनाइ थियो । त्यस्तै चलचित्र निर्माता संघका कोषाध्यक्ष ज्योती राइले अभिनेत्री गुरुङको कवितामा यर्थात र जीवन भोगाइका अनभुव भएकोले सबैको जीवनसँग कहिँ न कहिँ मेल खाने रहेको बताए । कार्यक्रममा कविताले ‘नबुझ्दा’, ‘मनमा लागेका सबै कुराहरु’, ‘भेट्नुछ एकचोटि अब फेरि’ शीर्षकका तीन कविता समेत वाचन गरेर सुनाएकी थिइन् ।

अभिनेत्री गुरुङले गत वर्ष ‘म अनि मेरो’ नामक आत्मकथा पुस्तक ल्याएकी थिइन् । जसमा उनले कलेज लाइफ, उमेश थापासँग प्रेम र अन्तर्जातीय विवाह, माइती पक्षको अवरोध, बुहारी हुँदाको अनुभव र नेपालदेखि नर्वेसम्मको यात्रालाई उतारेकी थिइन् । अहिले सार्वजनिक कविता संग्रहमा पनि जीवनका त्यही कालखण्डका भोगाइ छ ।

कविता र उमेशलेसँग परिवारको सहमतीबिना भागेर अन्तर्जातीय विवाह गरेका थिए । विवाहपछि भागेर नर्वे पुगेका उनीहरुको प्रेमकथामा केही वर्ष अगाडि ‘बोबी’ फिल्म निर्माण भएको थियो । जुन फिल्ममा कविता र उमेश नै मुख्य भूमिकामा थिए ।

कमेन्ट गर्नुहोस्