‘महाजात्रा हेर्न परिवार नै जानुस्’ : गायिका टिका सानु

फिल्म । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ पूर्ण मनोरन्जनात्मक बनेको लोकगायिका टिका सानुले बताएकी छिन् । मङ्गलवार आफ्नो परिवारसहित गोंगबुस्थित लोत्से मलमा रहेको आईएनआई सिनेमाजमा फिल्म हेरेपछि समय र पैसाको सदुपयोग भएको प्रतिक्रिया दिईन् ।

‘फिल्मको बारेमा चर्चा सुनेर आएको हुँ । फिल्म हेर्दा हाँस्ने र रुने दुवै भयो । मेरो परिवार पनि खुशी भए’, गायिका टिकाले भनिन्,‘यो फिल्म आफ्नो परिवारलाई ल्याएर हेराउनु भन्न चाहन्छु । मैले मन परेका केही डायलगलाई टिपेकी छु ।’

चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ । फिल्ममा उनीहरू बीच शृंखलावद्ध रुपमा आउने उतारचढावसँगै झाँगिएको मित्रतालाई प्रस्तुत गरिएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए ।

‘महाजात्रा’ प्रति राजनीतिज्ञ चासो बढेको छ । मनोरञ्जनसँगै राष्ट्रिय विषयलाई समेटिएको फिल्मलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन् । फिल्मले पहिलो तीन दिनमा चार करोड २६ लाखको ग्रस कलेक्सन गरिसकेको छ ।

फिल्मको विषयवस्तु तीन पात्रकै वरिपरि घुमेको छ । आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने सङघर्ष देखाईएको फिल्ममा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्