सङ्गीत । प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्दरचना रहेको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘अन्धकार पन्छाएर’ श्रोता तथा दर्शकमाझ सार्वजनिक गरिएको छ । शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतको भिडियो हालै सार्वजनिक भएको हो । वीरेन्द्र भाट ‘विपिन’को निर्देशनमा तयार भएको गीतको भिडियोमा कलाकार रमेश बुढाथोकीसहित डा. नवीन यादव, विष्णु रोक्का, जयन्त रेग्मी र सुशील श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ । सरला रिजालको प्रस्तुति रहेको भिडियोको छायांकन महेश महारा र सम्पादन निर्देशक वीरेन्द्र भाट स्वयंले गरेका छन् ।
देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै निर्माण गरिएको यो गीतलाई सशक्त जागरण गीतका रूपमा लिइएको छ । गीतमार्फत विभाजन होइन, एकता र सहकार्यबाट अघि बढ्नुपर्ने सन्देश प्रवाह गरिएको डा. रिजालले बताउनुभयो । देश विकासका लागि जुट्न र परिवर्तनको पक्षमा उभिन गीतले आह्वान गरेको गीतकार रिजालको भनाइ छ । ‘जाग युवा, जाग – देश निर्माणमा लाग’ भन्ने सन्देश गीतको मूल भाव रहेको छ ।
डा. रिजाल शब्द, संगीत र स्वरका त्रिवेणी प्रतिभा मानिन्छन् । उनले रचना गर्नुभएको पहिलो रेकर्डेड गीत ‘म मान्दिनँ जात र धर्म कसैको’ वि.सं. २०२० सालमा रेकर्ड भएको हो । त्यस्तै, वि.सं. २०२६ सालमा रेकर्ड भएको ‘मेरो पौवा पाटी’ उहाँको स्वरमा रेकर्ड भएको पहिलो गीत हो । डा. रिजालकै शब्द, संगीत र स्वरमा रेकर्ड भएको उक्त गीत उनको सांगीतिक यात्राको ऐतिहासिक दस्तावेजका रूपमा रहेको छ ।
डा. रिजालको जन्म वि.सं. २००४ साल कात्तिक १४ गते धरानको पुरानो बजारमा जननीप्रसाद रिजाल र पूर्णमाया रिजालको साहिँलो सन्तानका रूपमा भएको हो । सानैदेखि साहित्य, सामाजिक कार्य तथा खेलकुदमा सक्रिय रहेका रिजालले १५ वर्षको उमेरमा सरला घिमिरेसँग विवाह गरेका थिए । साहित्यिक पारिवारिक पृष्ठभूमि बोकेका उनका हजुरबुबा ध्रुवलाल रिजाल र बुबा जननीप्रसाद रिजाल पनि साहित्यप्रेमी थिए ।
धरान पब्लिक स्कुलमा कक्षा ९ सम्म अध्ययन गर्नुभएका डा. रिजालले एसएलसी विराटनगरबाट पूरा गरे । हिमकला मन्दिरको नाटक समूहसँग आबद्ध भई भारतको वीरपुर, जोगवनी र फार्विसगञ्जसम्म नाटक मञ्चन गरेको अनुभव पनि उनीसँग छ । एसएलसीपछि आईएस्सी अध्ययनका लागि वनारस गएका रिजालले त्यहाँ पनि कलाकारितालाई निरन्तरता दिए ।
हालसम्म ३ हजार ५ सयभन्दा बढी गीत रचना गरिसकेका डा. रिजालको स्वरमा ३०० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । करिब ६ दशकदेखि गीति लेखनमा सक्रिय रहेका रिजालका ‘मेरो पौवा पाटी’, ‘ईश्वर आफैँ बोल्छ’, ‘मेरी सान्नानी’, ‘शुभकामना’, ‘सगरमाथा रोइरहेछ’, ‘सारंगीको तार टुट्यो’, ‘यात्रा’ र ‘पपकर्न’लगायत १३ वटा गीति एल्बम सार्वजनिक भइसकेका छन् ।
यसका साथै उनले ‘लक्ष्मी पूजा’, ‘छोरी बुहारी’, ‘जूनतारा’, ‘साथी’, ‘एक नम्बरको पाखे’, ‘अप्सरा’, ‘उकाली – ओराली’ र ‘गौँथली’ गरी आठवटा फिल्म निर्माण गरेका छन् । ती फिल्ममा कथा तथा गीत लेखन समेत उनकै रहेको छ । ‘गौँथली’ गीति फिल्म हो, जसले महिला अधिकार र छोरी शिक्षाको सन्देश बोकेको छ ।
‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेऊ न’, ‘निधारमा रातो माटो, शिरमा टोपी राखें’ र ‘भागेर भए पनि आऊ’जस्ता दर्जनौँ चर्चित गीतका सर्जक डा. रिजाल हाल पनि लेखनमा सक्रिय छन् ।










