फिल्म । छिटै छायांकन प्रारम्भ हुने फिल्म ‘पाँच पाण्डव’ मा दर्शकले फुल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने भएका छन् । म्युजिक नेपालले हालै नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा फिल्मको साउन्ड डिजाइनको काम हुने निर्माण पक्षले जनाएको छ । ‘पाँच पाण्डव’ नेपालकै पहिलो डल्बी एट्मस साउन्ड स्टुडियोमा साउन्डको काम गर्ने पहिलो फिल्म बन्ने भएको छ । निर्माण पक्षका अनुसार फिल्मको सम्पूर्ण साउन्ड पोस्ट प्रोडक्सन डल्बी एट्मस प्रविधिमै गरिनेछ ।
फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठले डल्बी एट्मस स्टुडियोसँग औपचारिक सम्झौता भइसकेको जानकारी दिए । उनले भने,‘दर्शकलाई साउन्डको फरक स्वादसहित प्राविधिक रूपमा पनि अब्बल फिल्म दिने हाम्रो लक्ष्य हो ।’
यसका लागि डल्बी एट्मस स्टुडियोका सञ्चालक सन्तोष शर्मासँग कागजी सम्झौता गरिएको र सो अवसरमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य र निर्देशक वसन्त निरौला पनि उपस्थित रहेको थियो । वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त फिल्ममा हरिवंश आचार्यसँगै जितु नेपाल, सागर लम्साल (बले)लगायत कलाकारको अभिनय रहनेछ ।
निर्माण पक्षले फिल्म नामअनुसार धार्मिक कथामा आधारित नभई सामाजिक ड्रामामा आधारित रहेको स्पष्ट पारेको छ । फिल्मका महिला पात्रमा दीपाश्री निरौला र रजनी गुरुङ रहनेछन् । काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने फिल्मको पटकथा सुशील पौडेलले तयार गरिरहेका छन् । उक्त फिल्मका निर्माता काली रानी श्रेष्ठ हुन ।












