फिल्म । यही माघ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘परिवर्तन’को निर्माण टिमले प्रचारप्रसारलाई तीव्र बनाएको छ । कलाकारसहितको टिम यतिबेला पूर्वी जिल्ला झापामा पुगेर फिल्मको प्रचारमा सक्रिय छ । निर्माण टिमले माघे संक्रान्तिको अवसरमा झापाको कन्काई माई नदीमा आयोजना हुने माइमेलामा फिल्मको प्रचार गरेको छ । लाखौँ दर्शकको उपस्थिति रहने उक्त मेलामा कलाकारहरूले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै मनोरञ्जनसमेत प्रदान गरेका थिए ।
पछिल्लो समय फिल्मको गीत ‘पाकेको चिउरी’ चर्चामा रहेकाले यही गीतमा कलाकार र हजारौँ दर्शक नाच्दै प्रचारमा सहभागी भएका थिए । फिल्मप्रति दर्शकको चासो देखिएपछि अभिनेता सुशील श्रेष्ठ, अञ्जना बराइलीलगायत कलाकार उत्साहित देखिएका छन् । निर्देशक विजय केरुङले माइमेलामा देखिएको दर्शकको उपस्थितिले आफू अत्यन्त खुसी भएको प्रतिक्रिया दिएका छन् । प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन झापाका विभिन्न कलेज तथा विद्यालयमा पुगेर विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको उनले बताए ।
लोकलयमा आधारित फिल्म ‘परिवर्तन’को गीत ‘पाकेको चिउरी’ दर्शकले मन पराइरहेका छन् । साथै फिल्मको ट्रेलर तीन दिनमै युट्युबमा ११ लाखभन्दा बढी पटक हेरिएको छ । दर्शकको यो उत्साहले कलाकार र निर्माण पक्ष थप उत्साहित बनेका छन् ।
हाल झापामा निर्माता दीपक सिवाकोटी, निर्देशक विजय केरुङ, अभिनेता सुशील श्रेष्ठ, अञ्जना बराइलीलगायत कलाकारले प्रचार गतिविधि गरिरहेका छन् । एक्सन हिरोको छवि बनाएका सुशील श्रेष्ठ र हिट फिल्ममार्फत चर्चामा रहेकी अञ्जना बराइलीको केमेस्ट्रीले फिल्मप्रति दर्शकको चासो बढाएको निर्माण पक्षको विश्वास छ ।
फिल्मको ट्रेलरमा सुशील श्रेष्ठको संवाद ‘पारसलाई मन परे दरबार, मन नपरे तलवार’ सामाजिक सञ्जालमा चर्चामा छ । टिकटकलगायत प्लेटफर्ममा यस संवाद प्रयोग गरी बनाइएका भिडियोहरू पनि बढ्दै गएका छन् ।
एक्सन–सस्पेन्स कथावस्तुमा आधारित ‘परिवर्तन’ले सत्ताको शक्तिमा देखिने प्रवृत्तिलाई प्रस्तुत गरेको देखिन्छ । सुशील श्रेष्ठको सशक्त एक्सनले दर्शकमा थप कौतुहलता जगाएको छ । फिल्ममा सुशील र अञ्जनासँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य भूमिका रहेको छ ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा दीपक सिवाकोटीको कथा तथा लगानी छ । पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । फिल्मका गीतमा रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा बन्दे प्रसादको सम्पादन रहेको छ । फिल्मको वितरण आरआर फिल्म्सले गरेको हो भने ओएसआर डिजिटलले सहकार्य गरेको छ ।











