सङ्गीत । गायक यम बरालको स्वरमा सजिएका तीन नयाँ गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले बरालका ‘यो साँझ फेरी’, ‘जुन र सुनको’ र ‘टेण्डर माया’ सार्वजनिक गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठसँगै वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जंगम, कलाकार तथा निर्देशक दीपाश्री निरौला, पत्रकार ऋषि धमला लगायतले गीत तथा भिडियो सार्वजनिक गरेका थिए ।
सार्वजनिक गीतमध्ये ‘यो साँझ फेरी’ मा राखी गौचनको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ । गीतको भिडियो केशव राज भट्टले निर्देशन गरेका हुन् । अमन बडुको छायांकन, राकेश दाहालको सम्पादन रहेको भिडियोमा जुना कार्की र गायक यम बरालको अभिनय छ ।
दोस्रो गीत ‘जुन र सुनको’ मा सञ्जय बरालको शब्द र विकास चौधरीको संगीत रहेको छ । यस गीतको भिडियोको निर्देशन गीतकार सञ्जय बरालले नै गरेका हुन् । भिडियोमा यम बराल, श्री थपलिया, सुरेन पौडेल र नारायण प्रधान सैजुको अभिनय देख्न सकिन्छ । बिक्रम डिसीको छायांकन र विकास धमलाको सम्पादन रहेको छ ।
तेस्रो गीत ‘टेण्डर माया’ मा पनि सञ्जय बरालकै शब्द र विकास चौधरीको संगीत रहेको छ । नितिन चन्दले निर्देशन गरेको भिडियोमा सन्दीपा गौतम, नवीन महतरा क्षेत्री, रशिला श्रेष्ठ र गायक बराल स्वयंको अभिनय छ । नमित चन्द ठकुरी एसोसिएट निर्देशक रहेको भिडियोमा मनोज केसीको छायांकन र शुकुन तिमल्सिनाको सम्पादन रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गायक यम बरालले लामो समयपछि आफू मूलधारको संगीतमा फर्किएको बताए । करिब ३५ वर्षदेखि निरन्तर संगीतमा सक्रिय रहँदै आएका बरालले आफू ‘फन्डा’ भन्दा साधनामा रमाउने गायक भएको उल्लेख गरे । आफूले जानेको कुरा संगीत मात्र भएकाले निरन्तर संगीतकर्ममै सक्रिय रहने उनको भनाइ थियो । उनले सार्वजनिक गीतका स्रष्टा–सर्जकप्रति आभारसमेत व्यक्त गरे ।
अभिनेतासँगै गायक रहेका मदनकृष्ण श्रेष्ठले आफूलाई मन पर्ने स्वरमध्ये यम बरालको स्वर पनि एक भएको बताए । श्रीमती गुमाएपछि आफू भावुक रहने गरेको उल्लेख गर्दै उनले बरालका गीतले आफ्नो मन भुलाएको प्रतिक्रिया दिए । संगीतकार दीपक जंगमले सार्वजनिक गीतका विभिन्न आयामबारे चर्चा गर्दै शब्द, संगीत र स्वरबीचको उत्कृष्ट तालमेल रहेको प्रतिक्रिया दिए । यस्तै वरिष्ठ पत्रकार ऋषि धमलाले यम बरालको सांगीतिक योगदानको चर्चा गर्दै गीतसंगीतमार्फत इलामलाई चिनाउन उनले महत्वपूर्ण भूमिका खेलेको बताए ।











