‘परिवर्तन’ मा सुशीलको दमदार एक्सन

काठमाडौं । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘परिवर्तन’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमबार फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा फिल्मको एक्सन–सस्पेन्स कथावस्तु, दमदार द्वन्द्व दृश्य र पात्रहरूबीचको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । ट्रेलरमार्फत अभिनेता सुशील श्रेष्ठ सशक्त एक्सन अवतारमा देखिएका छन् भने अभिनेत्री अञ्जना बराईलीसँगको केमेस्ट्री पनि आकर्षक देखिन्छ । अञ्जना फिल्ममा प्रहरी इन्स्पेक्टरको भूमिकामा प्रस्तुत भएकी छन् ।

ट्रेलरमा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे लगायतका कलाकारको पनि झलक देख्न सकिन्छ । ट्रेलर सार्वजनिक भएपछि निर्देशक विजय केरुङले फिल्मले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, “फिल्मको कथाअनुसार नै ट्रेलर तयार गरिएको हो । एक्सनसँगै सामाजिक सन्देश बोकेको यो फिल्मले दर्शकलाई बाँध्ने विश्वास छ ।” ट्रेलरमा सत्ताका लागि नेताले जे पनि गर्न सक्छन् भन्ने यथार्थलाई पर्दामा उतारिएको देखिन्छ ।

दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘परिवर्तन’मा सुशील श्रेष्ठ र अञ्जना बराईलीका अलावा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य भूमिका रहेको छ । एक्सन–सस्पेन्स विधामा निर्माण भएको यस फिल्मको निर्देशन विजय केरुङले गरेका हुन् । दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका छन् ।

फिल्ममा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा द्वन्द्व निर्देशन श्री श्रेष्ठको रहेको छ । यसअघि सार्वजनिक पोस्टर, टिजर र ‘पाकेको चिउरी’ बोलको गीतले दर्शकमाझ चासो बढाइसकेको यो फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्