फिल्म । हलिउड फिल्म ‘अवतार : फायर एन्ड एश’ ले नेपाली बक्सअफिसमा राम्रो कमाइ गरेको छ । विशेषगरी ‘अवतार’ शृंखलाको तेस्रो भागले प्रदर्शनको सुरुआती दिनमै बलियो उपस्थिति जनाएको छ । गत १९ डिसेम्बर (पुस ४) मा रिलिज भएको उक्त फिल्मले गएको पुस २६ गतेसम्म नेपालमा ६ करोड २६ लाख १२ हजार ४०० रुपैयाँ आम्दानी गरेको तथ्यांक चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ मा छ । यो फिल्मका १ लाख ५३ हजार ४०१ वटा टिकट बिकेका छन् ।
१ सय ९७ मिनेट लामो रनटाइम रहेको ‘अवतार : फायर एन्ड एश’ ले मिश्रित समीक्षाका बाबजुद नेपालमा राम्रो व्यापार गरेको छ । यद्यपि, फिल्मप्रति आएका समीक्षाहरू मिश्रित रहेकाले यसले आगामी दिनमा कति लामो दूरी तय गर्छ भन्ने विषयमा भने अन्योल देखिएको छ ।
जेम्स क्यामरुनद्वारा निर्देशित यो फिल्मले काल्पनिक पाण्डोरा ग्रहको कथालाई निरन्तरता दिन्छ । विज्ञान कथामा आधारित यो फिल्मको तेस्रो श्रृंखलाले पाण्डोराका दुई आदिवासी जाति र ज्वालामुखीको चित्रण गरेको छ । फिल्ममा स्याम वर्थिङ्टन (जेक सुली), जो सल्डाना (नेतिरी), सिगोर्नी वीभर (किरी), उना च्याप्लिन र स्टिफन ल्याङ (कर्णेल क्वारिच) लगायतका कलाकारहरू छन् ।
‘अवतार’ को पहिलो र दोस्रो श्रृंखला विश्व फिल्म इतिहासमा सर्वाधिक कमाउने शीर्ष ५ मा पर्छन् । यो तेस्रो श्रृंखला फ्रेन्चाइजीको अन्तिम हुने बताइएको छ ।फिल्महरूले समाज, संस्कृति र व्यक्तिमा गहिरो प्रभाव पार्छन् । ‘अवतार’ जस्ता फिल्मले पर्यावरण संरक्षण, सांस्कृतिक विविधता र प्राविधिक नवप्रवर्तनलाई विश्वमाझ प्रस्तुत गर्दै सामाजिक जागरूकता फैलाउँछन् ।










