कुटुम्बको भव्य लाइभ म्युजिक

संगीत । नेपाली मौलिक तथा नेवारी रैथाने संगीतको प्रवर्द्धन गर्दै आएको म्युजिकल ब्यान्ड ‘कुटुम्ब’ ले काठमाडौंमा भव्य लाइभ म्युजिक प्रस्तुत गरेको छ । शनिबार साँझ ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’ मा कुटुम्बले लाइभ प्रस्तुति दिएको हो ।

साँझ करिब ५ बजेदेखि राति ९ बजेसम्म चलेको कार्यक्रममा कुटुम्बले नेवारी गीतसंगीतसँगै अन्य चर्चित र मौलिक रैथाने धुनहरू प्रस्तुत गरेको थियो। मौलिक धुनमा लोकप्रिय गीतका टुक्रा मिसाएर प्रस्तुत गरिएको संगीतले दर्शकलाई झुमाएको थियो। कुटुम्बको विशिष्ट शैलीमा तयार पारिएका यी प्रस्तुति दर्शकका लागि विशेष आकर्षण बने।

कार्यक्रमका क्रममा ब्यान्ड सदस्यहरूले आफूले प्रस्तुत गरेका धुन र त्यसको सांस्कृतिक महत्वबारे समेत जानकारी दिँदै प्रस्तुति दिएका थिए। यसले नेवारी तथा नेपाली रैथाने गीतसंगीतको प्रवर्द्धनमा थप योगदान पुगेको आयोजकको भनाइ छ।

प्रस्तुतिका बीच–बीचमा ब्यान्ड सदस्यहरूले माइकमार्फत काठमाडौंमै शान्त र सुन्दर पर्यटकीय गन्तव्यका रूपमा रहेको २९ रिसोर्ट एन्ड फार्म हाउस लाई ‘स्वर्गको सानो टुक्रा’ को रूपमा व्याख्या गर्दा दर्शकले कुटुम्बलाई भव्य तालीले साथ दिएका थिए।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै २९ रिसोर्ट एन्ड फार्म हाउसका सञ्चालकमध्येका एक दिमेश श्रेष्ठले नेपाली मौलिक संस्कृतिको प्रवर्द्धनसँगै रिसोर्टको पहिचान गराउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए। उनले भने, “हामी पश्चिमी संगीतमा रमाइरहँदा हाम्रो आफ्नै सभ्य र भव्य मौलिक संगीत पनि छ भन्ने सन्देश दिन चाहेका हौँ। गीतसंगीत र व्यवसायलाई यसरी जोड्दै लैजान सकियो भने नेपाली मौलिक संगीत अझै विस्तार हुँदै जानेछ।”

कन्सर्टमा प्रवेशका लागि ५०० रुपैयाँ टिकट मूल्य तोकिएको थियो।

करिब चार करोड रुपैयाँको लगानी मा दिमेश श्रेष्ठसहित किरण श्रेष्ठ, सुशान्त श्रेष्ठ र कुमार श्रेष्ठको साझेदारीमा निर्माण गरिएको २९ रिसोर्ट एन्ड फार्म हाउस गत वर्षदेखि सञ्चालनमा आएको हो।

कमेन्ट गर्नुहोस्