फिल्म । निर्देशक अनिल योञ्जनको निर्देशनमा बन्ने फिल्म ‘रुमानी रङ्ग’ लाई काठमाडौँ उपत्यकामा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने भएको छ । निर्माण समूहले केही दिन अगाडि रीच इन्टरटेनमेन्टका लागि करण श्रेष्ठ र आज एफडीका लागि छविराज ओझाले सम्झौता गरेका हुन् ।
अभिनेता धीरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहने भनिएको फिल्मलाई प्रेम कथानक बनाइने निर्देशक योञ्जनले बताए । यसअगाडि ‘इन्टु मिन्टु लन्डनमा’ जोडी बनेर प्रस्तुत भएपछि दोस्रो पटक काम गर्न लागेको फिल्म अष्ट्रेलियाको रमणीय दृश्यमा छायांकन गरिने उनले जानकारी दिए ।
‘अहिले हाम्रो प्रेम कथानक फिल्महरू परिवारले हेर्ने कमै बनिरहेका छन् । यो प्रेम कथामा परिवार पनि उत्तिकै जोडिएको छ । यो सबै वर्गका दर्शकलाई हुने किसिमले तयार गर्नेछु’, उनले भने ।
निर्देशक योञ्जनले ‘डायरी’ मार्फत निर्देशनको सुरुआत गरेका थिए। यसमा कथा/पटकथा/संवाद निर्देशक योञ्जनकै रहने छ भने जिएम ठकुरी प्रस्तुकर्ता र हरि मल्ल ठकुरी निर्माता रहेका छन् ।
आविस्कार वहुसञ्चार प्रालिको सहकार्य रहने फिल्ममा अष्ट्रेलियाको लाइन प्रोडियूसरमा डिव्वाईज इन्टटेन्मेन्ट रहेको छ। यसको ९० प्रतिशत सुटिङ अष्ट्रेलियामा हुनेछ भने बाँकी १० प्रतिशत नेपालमा हुनेछ । फिल्मले सजिलोसँग तोडिने र गार्होसँग जोडिने मायालाई हसाएर, रुवाएर विदेशमा बस्ने विद्यार्थीको दु:खसमेत देखाउनेछ । महेश पौडेलको सिनेम्याटोग्राफी रहने फिल्ममा सुशिल थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सह-निर्माता छन् ।
वितरक श्रेष्ठले फिल्मको प्रदर्शन यसै वर्ष गरिने जानकारी दिए । ‘स-परिवार हलमा आएर हेर्ने फिल्म बन्ने भएकाले यसलाई उपयुक्त समयमा प्रदर्शन गर्ने छौँ । यसको छायांकन सुरू भए लगत्तै हामी यस विषयमा जानकारी दिने छौँ’, वितरक श्रेष्ठले भने ।