फिल्म । अभिनेता दयाहाङ राईले आगामी फिल्म ‘मिरमिरे’ बुवाछोरीको सम्बन्धसँगै सन्तानप्रति अभिभावकले देख्ने भविष्य र त्यागको कथा बोकेको बताएका छन् । फिल्ममा बुवाले छोरीसँग आफ्ना पीडा र मुख्य कुराहरू लुकाएर छोरीका अगाडि देखाउने बनावटी खुसीलाई प्रस्तुत गरिएको दयाहाङको भनाइ छ । यही भावनात्मक पक्षलाई भित्री रूपमा कसरी उजागर गर्न सकिन्छ भन्ने कुरामा आफूले विशेष ध्यान दिएको उनले बताए ।
झट्ट हेर्दा ‘मिरमिरे’ बुवा र छोरीको सामान्य कथा जस्तो देखिए पनि गहिरिएर हेर्दा फिल्मले धेरै तहका भाव र सन्देश बोकेको दयाहाङको भनाइ छ । उनले भने, ‘झट्ट हेर्दा धेरै कुरा नदेखिएला, तर एकछिन सोचेर हेर्दा फिल्मभित्र धेरै पक्षहरू भेटिन्छन्। यस्तै संवेदनशील र सोच्न बाध्य पार्ने कथामा काम गर्न मन लागेकाले मैले यो फिल्म छानेको हुँ। कतिसम्म दुःखी वा खुसी हुने भन्नेभन्दा पनि यो प्यासनका साथ हेर्नुपर्ने फिल्म हो।’
‘मिरमिरे’ हेरेपछि दर्शक सोच्न बाध्य हुने फिल्म भएको उनको दाबी छ । यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’ माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउँदै छ। यार्सा फिल्म्सको प्रस्तुतिमा तयार भएको यस फिल्ममा दयाहाङ राईसँगै प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।
फिल्मका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन् भने सह निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर रहेका छन् । कार्यकारी निर्माताको जिम्मेवारी आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेलले सम्हालेका छन् । वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट तथा दिलीप पन्त निर्माण नियन्त्रकका रूपमा रहेका छन् ।










