सौन्दर्य । जर्जियामा आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘वर्ल्ड राइजिङ स्टार’ मा नेपालबाट दुई जना बालबालिकाले प्रतिनिधित्व गर्ने भएका छन्। ‘डिएसए स्टार सिजन १५’ का विजेता प्रनिक थापा र ‘डिएसए स्टार सिजन १६’ की विजेता समृद्धि शाहले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।
उनीहरूसँगै ‘डिएसए स्टार’का आयोजक परिवर्तन इभेन्ट हाउसका निर्देशक तथा वर्ल्ड राइजिङ स्टार का नेसनल डिरेक्टर राज बराइली पनि जर्जिया जाने भएका छन् । प्रतियोगिता जर्जियाको राजधानी तिब्लिसीमा यही जनवरी ८ देखि १३ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विश्वका ४० भन्दा बढी देशका प्रतिभाहरूको सहभागिता रहने बताइएको छ ।
परिवर्तन इभेन्ट हाउसले यसअघि दुई पटक वर्ल्ड राइजिङ स्टार मा नेपालको प्रतिनिधित्व गराइसकेको छ । ती दुवै अवसरमा नेपाली बालबालिकाले विश्व विजेताको उपाधि जित्न सफल भएका थिए ।
इभेन्ट हाउसका निर्देशक राज बराइलीले यसपटक पनि शीर्ष ताज नेपालमै ल्याउने लक्ष्यसहित तयारी भइरहेको बताए। उनका अनुसार प्रतियोगिताका लागि नेपाललाई चिनाउने विशेष भिडियो निर्माण गरिएको छ, जुन प्रतियोगिताका क्रममा प्रदर्शन गरिनेछ। उक्त भिडियो परिवर्तन इभेन्ट हाउसको आधिकारिक युट्युब च्यानलमार्फत पनि हेर्न सकिनेछ।










