श्रीकृष्ण जन्माष्टमीमा ‘एक भगवत् गीता’को दोस्रो गीत सार्वजनिक

फिल्म । भदौ २९ गतेबाट प्रदर्शनमा आउने झरना थापाद्वारा निर्देशित फिल्म ‘एक भगवत् गीता’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बुधबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर युट्युबमा सार्वजनिक गरिएको ‘के तिमीलाई यो कुराको खबर छ’ बोलको गीतमा हर्कुसल बस्नेत, राजाज्ञा श्रेष्ठ र सुमन गुरुङको स्वर, सविन एकतारेको शब्द रचना तथा हर्कुसल स्वयंको संगीत छ ।

मैथिली भाषाको पनि प्रयोग भएको गीतमा फिल्मकी मुख्य अभिनेत्री सुहाना थापा र बाल कलाकार जेभिन श्रेष्ठ प्रस्तुत छन् । दिदी-भाईको रुपमा चित्रित उनीहरुको एकअर्काप्रति प्रेम, सामीप्यता र आत्मीयतालाई गीतमा दर्शाइएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको छायांकन जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिर, रेलवे स्टेशनलगायतका ठाउँहरुमा गरिएको छ । फिल्मले सबै एक भएको संदेश प्रवाह गर्ने अभिनेत्री सुहानाले बताइन । उनले भनिन्,’हामी सबै बराबर छौं । हामी एकताबद्ध हुनु पर्छ भन्ने संदेश फिल्मले दिन्छ ।’

फिल्ममा विपिन कार्की, धीरज मगर, जेभिस श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, राम कैलाश ठाकुर, धीरज ठाकुर, सुरेन्द्र राय, गंगाकान्त झाको पनि अभिनय रहेको छ । फिल्मको कन्सेप्ट सुहाना थापा र कथा झरना थापाको हो । फिल्ममा झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा तथा परिक्षेद, पुरुषोत्तम र सरिनको संवाद लेखन छ । राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको फिल्मको प्रस्तुतकर्ता सुनिल कुमार थापा र निर्माता सुहाना थापा हुन् ।

कमेन्ट गर्नुहोस्