मिरुनामा केन्द्रीत ‘मनसरा’

फिल्म । ‘कबड्डी’ शृंखलाका लेखकको रुपमा चर्चा कमाएका कवि उपेन्द्र सुब्बाले पहिलो निर्देशकीय फिल्म ‘जारी’ बाटै आफूलाई सफल बनाए । अर्थात् उनको फिल्मले बक्सअफिसमा रेकर्ड बनाउनुका साथै समीक्षकमार्फत पनि राम्रो प्रतिक्रिया पायो । कलात्मक र व्यावसायिक पक्षलाई सँगै लान सफल निर्देशक सुब्बाले ‘मनसरा’ मा एकल अभिभावक भएर गर्ने सङ्घर्षलाई प्रस्तुत गरेका छन् ।

शिर्ष भूमिकामा रहेकी मिरुना मगरले आफ्नो जीविकोपार्जन गर्न गर्ने व्यवसाय, बच्चा हुर्काउन गर्ने सङ्घर्षनै फिल्मको सार रहेको छ । फिल्ममा मिरुनासँगै दयाहाङ राई, प्रविन खतिवडा, मेनुका प्रधान जस्ता कलाकार छन् । फिल्ममा दयाले कविको भूमिका निर्वाह गरेको अनुमान सार्वजनिक प्रचार सामग्रीमार्फत लगाउन सकिन्छ ।

निर्देशक सुब्बाले यसपटक पनि ‘जारी’ झैँ फिल्मलाई कलात्मकसँगै व्यावसायिक पाटोमा अब्बल बनाउने प्रयास गरेका छन् । ललितपुर, काठमाडौं र पाँचथरमा तीस दिनसम्म छायांकन गरिएको फिल्ममा निर्देशक सुब्बाकै लेखन रहेको छ । उनले ‘जारी’ कै स्वाद दिन खोजेका छन् ।

फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ ।

कमेन्ट गर्नुहोस्