फिल्म । नेपाली फिल्म ‘आ बाट आमा’ को शीर्ष गीत ‘लैजा खबर ए हावा’ को कभर सङ गाउने वा अभिनय गर्नेले ५० हजार रुपैयाँ पुरस्कार जित्ने अवसर पाउने भएका छन् । निर्माण टिमले सोमबार उक्त गीतमा आधारित कभर सङ तथा अभिनय प्रतियोगिता घोषणा गरेको हो । प्रतियोगितामा सहभागी हुन इच्छुकले गीतको कभर सङ गाउनु पर्नेछ भने अभिनयमा रुचि हुनेले गीतमा अभिनय गरेर भिडियो तयार गर्नुपर्नेछ।
सहभागीले आ-आफ्नो विधामा तयार पारेको भिडियो माघ १२ गतेभित्र टिकटकमा अपलोड गर्नुपर्नेछ । तोकिएको मितिसम्म अपलोड भएका भिडियोहरू मात्र प्रतिस्पर्धामा समावेश गरिने निर्माण पक्षले जनाएको छ।
उत्कृष्ट अभिनय तथा प्रस्तुति भएको भिडियो छनोट गरी माघ १४ गते विजेतालाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने निर्देशक चन्द्र पन्तले जानकारी दिए । उनका अनुसार भिडियो अपलोड गर्दा ओएसआर डिजिटलको टिकटक अकाउन्ट @osrdigitalnp मेन्सन गर्न अनिवार्य गरिएको छ ।
आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्म ‘आ बाट आमा’ को उक्त गीत यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ । निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।
फिल्मको संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले दिएका छन् । कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको रहेको छ भने छायांकन डीओपी नवराज उप्रेती ले गरेका छन् । अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् । फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन् ।










