काठमाडौँबाट सुरू गरियो ‘रित्तो गाउँ’ को विशेष प्रदर्शनी

फिल्म । डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ को काठमाडौंमा विषेश प्रदर्शन गरिएको छ । त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रिय विभागका प्रा.डा उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित यस डकुमेन्ट्री सर्ट फिल्मको कमलपोखरी स्थित बिग मुभिजमा शुक्रबार पहिलो प्रदर्शन गरिएको हो । प्रदर्शनमा नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलसहित व्यवसायी, विभिन्न संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको उल्लेख्य सहभागिता थियो ।

यस विशेष प्रदर्शनसँगै ‘रित्तो गाउँ’ टिमले संसारभर आफ्नो विशेष प्रदर्शनको सुरुवात गरेको निर्देशक रामजी ज्ञवालीले जनाएका छन् । आधा दर्जन बढी सर्ट फिल्म र केहि म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक ज्ञवालीको लेखन एवं निर्देशनमा तयार यस फिल्मले युवा पलायनले रित्तिदै गएको गाउँको कथा प्रस्तुत गरेको छ ।

‘यो पहिलो प्रदर्शन हो । अब हामी विभिन्न संघ–सस्था, क्लब तथा व्यक्तिहरुसँग सहकार्य गरेर संसारभर यस फिल्मलाई देखाउनेछौं,अहिलेसम्म बुटवल, हेटौडा, जापान, हङकङ, अमेरिका लगायतका स्थानमा प्रदर्शन हुने लगभग निश्चित भएको छ’, उनले भने ।

‘रित्तो गाउँमा’ हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल, सविना राउत लगायतका कलाकारले अभिनय गरेका छन् । अनुसन्धानमा आधारित यस डकुमेन्ट्री सर्ट फिल्म २ भागमा छु्ट्टाइएको छ । पहिलो भाग अनुसन्धानमा आधारित तथ्यांकसहित देशभरको अवस्था चित्रण गरिएको छ । दोस्रो भागमा भने पहिलो भागबाट लिइएका विभिन्न कथामा काल्पनिक सर्ट फिल्म तयार पारिएको छ ।

आनन्दराज प्रोडक्सनको ब्यानरमा राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको यस फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुन् । फिल्ममा कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कंडेल कार्यकारी निर्माता हुन् ।

निरज कंडेलको छायांकन रहेको फिल्मको सम्पादन नहकुल खड्काले गरेका हुन् । फिल्ममा कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् भने साउण्ड डिजाइनिङको काम भरत कंडेलले गरेका छन् ।

कमेन्ट गर्नुहोस्