कन्दराको नयाँ संगीत यात्रा ‘काठमाडौं कलिङ कन्दरा’ हुँदै

सङ्गीत । लोकप्रिय संगीत समूह ‘कन्दरा’ले ‘काठमाडौं कलिङ कन्दरा’ नामक विशेष संगीत कार्यक्रमको घोषणा गरेको छ । सो कार्यक्रमअन्तर्गत ब्याण्डले आउँदो २८ कात्तिक (शुक्रबार) ठमेलस्थित एक्सओ क्लबमा प्रस्तुति दिने भएको हो । स्थापनाको ३२ वर्षमा समूह दोस्रोपटक काठमाडौंमा गुञ्जिन लागेको हो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको थियो । विशिष्टा इन्टरनेसनलले एक्सओ क्लब र हाई इन्टरटेनमेन्टको सहकार्यमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । पत्रकार सम्मेलनमा ब्याण्डका प्रमुख गायक विवेक श्रेष्ठले ब्याण्डले अघि सारेको ‘रिदम अफ चेन्ज’ थिमअन्तर्गत कन्सर्ट हुने जानकारी दिए । उनले उक्त थिम मुलुकको सांस्कृतिक, आर्थिक र सामाजिक परिवर्तनसँग सम्बन्धित रहेको बताए ।

‘मुलुक परिवर्तनको संघारमा छ । संगीतमार्फत हामीले त्यो परिवर्तनमा हातेमालो गर्न खोजेका हौँ,’ श्रेष्ठले भने, ‘एक्सओ क्लबमा हुने कन्सर्ट हाम्रो ‘रिदम अफ चेन्ज’ अभियानअन्तर्गतको पहिलो प्रस्तुति हुनेछ ।’

उनका अनुसार क्लबमा कार्यक्रम गर्नुको उद्देश्य मनोरञ्जन मात्रै नभई युवापुस्तासँग जोडिनु पनि हो। ‘क्लब नाच्ने र गाउने मात्र ठाउँ होइन, अहिलेको युवापुस्ताको माग हो,’ उनले स्पष्ट पारे।

गत वर्ष कन्दराले पहिलोपटक काठमाडौंमा ठमेलस्थित एलओडीमा कन्सर्ट आयोजना गरेको थियो । ‘हामी रिदम अफ चेन्जलाई सामाजिक र आर्थिक रूपान्तरणसँग जोड्न चाहन्छौं,’ श्रेष्ठले थपे, ‘संगीतमा पनि परिवर्तन आवश्यक छ, हामीले अगाडि रहने कलाकार मात्र होइन, पर्दा पछाडिका स्रष्टाहरूलाई पनि सम्मान गर्नुपर्छ ।’

उनका अनुसार अबको एक महिनासम्म नेपालका विभिन्न स्थानमा कार्यक्रमपछि ब्याण्डले अमेरिका, क्यानडा, युरोप र एसियाली देशहरूमा ‘रिदम अफ चेन्ज’ टूर गर्ने तयारी गरेको छ । एक्सओ क्लबमा हुने आगामी कन्सर्टमा ब्याण्डले आफ्ना हिट गीत प्रस्तुत गर्नेछ र बीचबीचमा ‘रिदम अफ चेन्ज’ सम्बन्धी सन्देशहरू पनि सुनाइनेछन् । कन्दराले यस कन्सर्टलाई युवापुस्तासँग जोडिने अवसरका रूपमा लिएको छ ।

कार्यक्रममा जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा मैनबत्ती बालेर मौन धारण गरिएको थियो । गायक श्रेष्ठले नयाँ गीतको केही अंश प्रस्तुत गरी उपस्थितलाई मन्त्रमुग्ध पारे । श्रेष्ठले अबदेखि कन्दरा मनोरञ्जन मात्र नभई सामाजिक प्रभाव पार्ने ‘सोसल इम्प्याक्ट इन्टरटेनमेन्ट’मा पनि सक्रिय हुने बताए ।

३२ वर्षअघि पोखरामा स्थापित कन्दरा अहिले पनि दर्शकमाझ उत्तिकै लोकप्रिय छ । ‘चन्चले कान्छी’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल राखी’, ‘भेडीगोठैमा’ र ‘लेककी हे माया’ जस्ता गीतहरूले समूहलाई चर्चाको शिखरमा पुर्‍याएका छन् । ब्याण्डका सदस्यहरूमा विवेक श्रेष्ठ (लिड भोकलिस्ट), सुनिल थापा (ड्रम), अविनाश गायक (मादल), पंकज झा (बासिस्ट), सन्देश मुजो (गितार), नील घतानी (किबोर्ड), सिमोस तझ्या (साउन्ड इन्जिनियर) र नवीन थापा (प्राविधिक विज्ञ) रहेका छन् ।

पत्रकार सम्मेलनमा ब्याण्डले आगामी एल्बमको रूपमा ‘कविसँग कन्दरा’ ल्याउने तयारी पनि गरेको जानकारी दिइयो ।

कमेन्ट गर्नुहोस्