फिल्म । पछिल्लो समय नेपालमा पनि साउथ इन्डियन फिल्महरुको क्रेज बढ्न थालेको छ । बाहुबली सिरिज मार्फत साउथ इन्डियन फिल्म तर्फ आकर्षित भइरहेका दर्शकहरुलाई थप आकर्षण बन्यो केजीएफ र पुष्पा । गत डिसेम्बरमा रिलिज भएको फिल्म पुष्पापछि हरेक हप्ता साउथ इन्डियन हिन्दी फिल्महरु नेपाल आउन थाले । ‘पुष्पा’ ले नेपालको बक्सअफिसमा झन्डै १० करोडको हाराहारीमा कलेक्सन गर्यो । लकडाउनकै चर्चाको बीच प्रदर्शनमा आएको फिल्महरु मध्ये पुष्पाले दर्शकको साथ् पायो । सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दनाको अभिनय रहेको थियो । फिल्मको डायलग र प्रस्तुतीकरणलाई दर्शकले रुचाए । पुष्पाले बनाएको दर्शकलाई बाहुबली सिरिजबाट साउथ इन्डियन फिल्मको स्वाद विश्वभरका दर्शकलाई चखाउन सफल निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ प्रदर्शनमा आयो ।
यो फिल्मले नन होलिडेमा नेपालमा आक्रामक व्यापार गर्यो । तीन दिनमै ५ करोड बढीको कलेक्सन गरेको फिल्मले दर्शकको मन पनि जित्यो । निर्देशक राजामौलीले ‘बाहुबली’ सिरिज पश्चात निर्देशन गरेको मात्र नभई साउथका दुइ स्टार जुनिएर एन्टीआर र राम चरणको अभिनय रहेकाले पनि यो प्रतिक्षित थियो । यसमा बलिउडका कलाकारहरु अजय देवगन र आलिया भट्ट पनि छिन् । फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिसविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ । ब्रिटिशले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस राजमा सिपाही कसरी एक अर्काको साथी बन्छन् र ब्रिटिसविरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो । स-परिवारले फिल्म हेर्न सक्ने मिल्ने भएकाले पनि यसले नेपालमा १५ करोड बढीको कलेक्सन गर्न सफल रहेको बताइएको छ ।
फिल्मले गर्ने व्यापारसँगै दर्शकको जितेको विश्वासलाई कायम गर्यो ‘केजीएफ : च्याप्टर २’ ले । आरआरआर हेरेर पुनः हल फर्किएका दर्शकलाई केजीएफको सिक्वेलले निराश बनाएन् । पहिलो च्याप्टर गुमनाम तरिकाले प्रदर्शनमा आएता पनि दोस्रो च्याप्टरले इनिसियल व्यापार निकै गर्यो । एक दिनमै तीन करोडको हाराहारीमा कलेक्सन गरेको फिल्मले १५ करोड बढीको ग्रस कलेक्सन गरेको बताइएको छ । केजीएफ’ सिरिज मार्फत यश कन्नडा फिल्मबाट भारतकै स्टार बनेका छन् । उनको क्रेज विश्वभर बढेको छ । फिल्ममा यशसँगै श्रीनिधि शेट्टी, सञ्जय दत्त, रविना टन्डन, प्रकाश राज लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
पहिलो च्याप्टर आउँदा सामान्य साउथको फिल्मको रुपमा हेरिएको ‘केजीएफ’ ले कन्नडा फिल्मलाई विश्वभर चिनायो । प्रशान्त नीलको निर्देशनमा बनेको फिल्मले गरेको आक्रामक व्यापारले नेपालका हल संचालकलाई समेत खुशी बनायो । नेपालमा बीच बीचमा आएका साउथ इन्डियन फिल्महरु फ्लप पनि भएका छन् । जस्तै , खिलाडी ,वलीमै , राधे श्याम फिल्म फ्लप पनि भए । यद्दपी यी फिल्महरुबाट निराश भएका दर्शकलाई आरआरआर र केजीएफ : च्याप्टर २ जस्ता फिल्मले पुनः हलसम्म तान्न सफल भयो । आउँदा दिनमा नेपाली फिल्म बजारमा साउथ इन्डियन फिल्महरुको दबदबा झनै बढ्ने देखिन्छ ।










