फिल्म । ‘होस्टेल ३’ मार्फत चर्चामा आएका अभिनेता तथा कन्टेन्ट क्रिएटर पारस बम (कूल ब्वाय) निर्माता रोहित अधिकारीको आगामी फिल्म ‘भाइटीका’मा अनुबन्धित भएका छन् । अभिनेता धीरज मगर ‘ऐरी’ फिल्मको छायांकनमा व्यस्त हुनुपर्ने भएकाले उनको स्थानमा पारसलाई ल्याइएको जनाइएको छ । डेढ महिनाअघि धीरजले निर्माता संघको रोहवरमा भएको बैठकमा तोकिएको मितिमा छायांकनमा उपस्थित हुने सहमति जनाउँदै लिखित सम्झौतामा हस्ताक्षर गरेका थिए । तर, समय मिल्न नसकेपछि निर्माताले नयाँ कलाकारको रूपमा कूल ब्वायलाई लिएका हुन् ।
फागुनदेखि छायांकन सुरु हुने अपेक्षा गरिएको ‘भाइटीका’मा अभिनेता विपिन कार्की पहिले नै अनुबन्धित भइसकेका छन् । विपिन र कूल ब्वाय फिल्ममा मामाभाञ्जाको भूमिकामा देखिने बुझिएको छ । साथै, विपिन फिल्ममा मुनाफा साझेदारको भूमिकामा पनि रहेका छन् । फिल्मका शीर्ष अभिनेत्री टुंग्याउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।
‘होस्टेल ३’ बाट मूलधारको फिल्म उद्योगमा स्थापित भएका कूल ब्वायलाई ‘भाइटीका’ उनका लागि अर्को ठूलो अवसरका रूपमा हेरिएको छ । दीपक वली निर्देशन गर्ने फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् । फिल्म ‘भाइटीका’लाई आगामी २०८३ सालको तिहार छेकोमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।









