फिल्म । हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय लघुत्तम चलचित्र महोत्सव’मा उत्कृष्ट प्रथम लघु फिल्मको रूपमा विनोद लोहार निर्देशित ‘संगिनी’ चयन भएको छ भने उत्कृष्ट निर्देशकको सम्मान ‘कलर अफ टी’का निर्देशक राज सरगमलाई प्रदान गरिएको छ । यो महोत्सव राष्ट्रिय नाचघरमा बिहीबार स्वर्गीय हरिप्रसाद रिमालको १०१औँ जन्मजयन्तीको अवसरमा सम्पन्न भएको हो । प्रतिष्ठानका सदस्य सचिव सम्राट सापकोटाका अनुसार दुई दर्जन लघु चलचित्रमध्ये प्रतिस्पर्धाका लागि नौ चलचित्र छनोट गरिएको थियो ।
उनले भने, ‘गुरु हरिप्रसाद रिमाल अभिनेता पनि भएकाले छोटो चलचित्रको महोत्सव आयोजना गरेका हौं । यो महोत्सवले नयाँ पुस्तालाई प्रोत्साहित गर्ने छ ।’ महोत्सवमा उत्कृष्ट तीन लघु चलचित्रमा विनोद लोहार निर्देशित ‘संगिनी’, राज सरगम निर्देशित ‘कलर अफ टी’ र सुरेश पोखरेल निर्देशित ‘अन्तिम राप’ परेका थि ए। यी चलचित्रहरूलाई प्रतिष्ठानले क्रमशः नगद १ लाख, ५० हजार र २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको छ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट सम्पादन, लेखक, निर्देशक, अभिनेता, अभिनेत्री, क्यामेराम्यान र सम्पादक गरी सात विधामा जनही १५ हजार रुपैयाँ र सम्मानपत्र वितरण गरिएको थियो । निर्णायक टोलीमा रंगकर्मी तथा निर्देशक हरिहर शर्मा, पहिलो नेपाली नायिका भुवन चन्द र रेडियोकर्मी तथा कलाकार मदनदास श्रेष्ठ थिए ।
प्रतिष्ठानले नाट्यसंगीत तथा पत्रकारितामा योगदान पुर्याउने स्रष्टाहरूलाई पनि सम्मान गरेको छ । प्राध्यापक डा. बासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गायिका मिरा राणा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र गायक धिरज राईलाई जनही एक लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो ।
मन्त्री खरेलको व्यक्तित्वमाथि निबन्धकार दीपक सापकोटाले उनको ‘हट सिट’ कार्यक्रमले नेपाली समाजमा बहस सिर्जना गरेको र राज्य सञ्चालन गर्नेहरूलाई गम्भीर बनाएको चर्चा गरे । गायक धिरज राईका बारेमा सम्राट सापकोटाले उनलाई युरोपमा ‘बुद्ध वास बर्न’ अभियानमार्फत विश्वमा बौद्ध दर्शन फैलाउने अभियन्ताको रूपमा चित्रण गरे भने गायिका मिरा राणामाथि रवीन्द्र खड्काले पाँच दशकदेखि सांगीतिक क्षेत्रमा योगदान पुर्याएकी र विभिन्न भाषा तथा नेपाली चलचित्रका लागि गीत गाएकी कलाकारको रूपमा वर्णन गरे ।
पुरस्कार ग्रहणपछि मन्त्री खरेलले भने, ‘मैले जानेर बुझेर कुनै गलत काम नगर्ने प्रतिबद्धता गर्छु । नागरिक सरकारले मन्त्री बनाएको हो, तपाईंहरूले डोर्याएको बाटो हिँड्छु । जेनजी आन्दोलनले दिएको म्यान्डेट पूरा गर्नु छ।’
उनले पत्रकारितामार्फत कल्याणी रिमालको विरासतलाई पछ्याएको बताए । प्रतिष्ठानले मन्त्री खरेललाई सम्मान गर्ने निर्णय मन्त्री बन्नुअघि नै गरेको थियो । असोज २ गते हुने भनिएको कार्यक्रम जेनजी आन्दोलनका कारण स्थगित भएको थियो । कार्यक्रममा ९४ वर्षीया कल्याणी रिमालको पनि उपस्थिति थियो ।












