रुचाईयो ‘वरिष्ठ बलराम’को ‘न्यौली बनैमा’

फिल्म । आगामी कात्तिक ६ गते भाइटीकाको अवसरमा प्रदर्शन हुने फिल्म ‘वरिष्ठ बलराम’ यतिबेला चर्चामा छ । फिल्मको गीत ‘न्यौली बनैमा’ र ट्रेलरले दर्शकको मन जितेका छन्।प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर तथा शान्तीश्री परियारको स्वर रहेको ‘न्यौली बनैमा’ ले सार्वजनिक भएको दुई हप्तामै युट्युबमा ५६ लाख (न्युज तयार पार्दासम्म) बढी भ्युज पाएको छ ।

सामाजिक सञ्जाल, विशेष गरी टिकटकमा यो गीत व्यापक रूपमा लोकप्रिय छ । गीतमा विजय बराल र समृद्धि अर्यालले युगल जोडीको भूमिका निर्वाह गरेका छन् । शंकाबीच जीवन साझा गर्ने सहमतिमा आधारित गीतमा विजयको अभिनय र नृत्यले दर्शकबाट प्रशंसा पाएको छ । धेरै दर्शकले गीत र नृत्यको खुलेर तारिफ गर्दै फिल्मको सफलताको कामना गरेका छन् ।

सार्वजनिक ट्रेलरले पनि उत्साहजनक प्रतिक्रिया पाएको छ । दयाहाङको फरक गेटअप र दुवैको अभिनयको तारिफ भइरहेको छ । एकअर्काको अस्तित्व नस्वीकारी अधिपत्य कायम गर्न खोज्ने द्वन्द्वले दर्शकलाई आकर्षित गरेको छ । गीत र ट्रेलरको सफलताले ‘वरिष्ठ बलराम’ले बक्सअफिसमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्यमा बनेको यो फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकार छन् । निर्देशक सुरेन्द्र पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । निर्माता आसिष एच तामाङ र श्रीराज कार्की हुन् भने कार्यकारी निर्माता प्रदीप जी धामी र पुष्कर बी घिमिरे छन् । लाइन प्रोड्युसर राम विष्ट छन् । मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ । काठमाडौँ उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्