फिल्म । कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बादशाह जुट’ को सार्वजनिक ट्रेलरले मुस्लिम समुदायले ठेस पुर्याएको भन्दै नेपाल मुस्लिमसंघले त्रुटी सच्याउँन पत्राचार गरेको थियो । यता फिल्म युनिटले पनि कुरा मिलेको बताएको थियो । सार्वजनिक ट्रेलर जातिय रुपमा आँच आउने, समाजमा विभेद हुने, जातिय हिँसा हुने, नेपाली समाजमा मिलेर बसेका सबै जातजातीलाई दोषारोपण हुने खालको भएको भन्दै गत असोज २५ गते नेपाल मुस्लिम संघले फिल्मको निर्माण कम्पनी एच एण्ड वि फिल्मस्लाई पत्रचार गरेपछि निर्माण युनिटले नयाँ ट्रेलर अपलोड गरेको छ ।
पत्रको जवाफमा निर्माण कम्पनी एच एण्ड वि फिल्मस्ले ट्रेलरमा राखिएको केही दृश्य तथा ध्वनीले मुस्लिम समुदायमाथि अपमान भएको भनि उठेको टिप्पणीलाई गम्भीर रुपमा लिएको र सच्चिने बताएको थियो । नयाँ ट्रेलर उक्त ध्वनीलाई हाटाइएको छ । निर्देशक जोनी सिंह राणा र निर्माता भोजराज श्रेष्ठ हस्ताक्षरित विज्ञप्तीमा ट्रेलरमा समावेश दृश्यले मुस्लिम समुदायलाई ठेस पुग्न गएकोमा क्षमायाचना समेत गरेका थिए । अघिल्लो ट्रेलरको ३ सेकेण्डदेखि बजेको अजानको ध्वनी र त्यसलगत्तै ८ सेकेण्डमा देखाइएको हात हतियारसँगै १३ सेकेण्डमा राखिएको आइ.एस.एसको आवाजले मुस्लिम समुदायलाई ठेस पुगेको भन्दै हटाइएको हो ।
‘यस फिल्मको कथा वा दृश्यले नेपाल भित्र वा बाहिर रहेका कुनै पनि समुदाय, धर्म तथा संस्कृतिलाई कुनै किसिमको अपमान गर्न खोजेको छैन’ निर्देशक राणाले बताए । फिल्म आफूलाई बादशाह सम्झने दुई युवकको कथामा आधारित छ । फिल्ममा सुशील श्रेष्ठ, आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डेलगायतका कलाकारहरुको अभिनय छ ।फिल्ममा सुशील पत्रकार र आमिर हवल्दारको भूमिकामा छन् । हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) को निर्माण रहेको फिल्ममा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन छ ।











