फिल्म । निर्देशक दिनेश राउतले आफ्नो नयाँ फिल्म ‘कुमारी’ को निर्माण घोषणा गरेका छन् । शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित भव्य कार्यक्रममा फिल्मको पहिलो पोस्टर सार्वजनिक गरिएको थियो । कार्यक्रममा मुख्य कलाकारको रूपमा अभिषेक खड्का र आकृति राजभन्डारीलाई प्रस्तुत गरियो । गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ को प्रस्तुतिले कार्यक्रममा थप रौनक थपेको थियो । गायक लिम्बुले यस फिल्ममार्फत पार्श्व गायनमा डेब्यु गर्दै ‘कहाँ छौ’ गीत प्रस्तुत गरे ।
‘आइ एम सरी’ बाट निर्देशन सुरु गरेका राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेम कथानक फिल्मका लागि परिचित छन् । यद्यपि, उनले ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयवस्तुमा आधारित फिल्महरू पनि निर्देशन गरेका छन् । दर्शकको चाहनाअनुसार आफू पुनः प्रेम कथामा फर्किएको राउतले बताए । उनले यसमा नयाँ पुस्ता भनिने ‘जेन जी’ को प्रेम कथालाई पर्दामा ल्याउँदैछन् । उनले मनोरञ्जनसँगै फिल्ममा सामाजिक संदेशलाई समेत स्थान दिएको बताईएको छ । नयाँ पुस्ताको प्रेममा देखिने भावनात्मक सम्बन्धलाई उनले पर्दामा प्रस्तुत गर्नेछन् ।
‘कुमारी’ को निर्माण ‘पुजार सार्की’ अगाडि नै सुरु भएको भए पनि विभिन्न कारणले छायाङ्कन अब सुरु हुन लागेको हो । ‘कुमारी’ को निर्माण बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा भएको छ । निर्माता महेन्द्र अधिकारी हुन् भने कथा विकास सुवेदीले लेखेका छन् । फिल्ममा अभिषेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहारको अभिनय रहनेछ । सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीले दिएका छन् । केहरले सबै गीतमा स्वर भरेका छन् । गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन् ।
फिल्मको छायाङ्कन यसै हप्तादेखि काठमाडौँमा सुरु हुँदैछ र यसै वर्ष प्रदर्शन गर्ने योजना छ । डिजिटल वितरण मोशन पिक्चर्सले गर्नेछ भने काठमाडौँ उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएट्रिकल वितरण सम्हाल्नेछ । छायाङ्कन निर्देशन सुसन प्रजापति, कार्यकारी निर्माता केदार भुसाल, प्रोडक्सन डिजाइनर आशिका शर्मा र मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत रहेका छन् । अन-स्क्रिन कविता रिया अधिकारीले रचना गरेकी छन् ।










