‘झरीपछिको इन्द्रेणी’ को ओएसटी ‘आम नेपाली बुवा’ ले २४ घण्टामै १० लाख भ्युज पार गर्‍यो

फिल्म । आगामी पुस ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘झरीपछिको इन्द्रेणी’ को शीर्ष गीत ‘आम नेपाली बुवा’ ले सार्वजनिक भएको २४ घण्टामै युट्युबमा १० लाख भ्युज पार गरेको छ । आइतबार राति सार्वजनिक गरिएको यस र्‍याप गीतले छोटो समयमै दर्शकको उल्लेखनीय प्रतिक्रिया पाएको हो । गीतको कमेन्ट बक्समा दर्शकहरूले वर्तमान नेपालको सामाजिक र राजनीतिक अवस्थालाई जस्ताको तस्तै चित्रण गरिएको भन्दै प्रशंसा गरेका छन् । आम बुवाको संघर्ष, जिम्मेवारी, भावना र सामाजिक यथार्थलाई समेटिएको यस गीतमा शब्द र र्‍याप दुवै बालेन शाहकै रहेको छ । गीतको भिडियोमा फिल्मका विभिन्न दृश्यहरू समावेश गरिएका छन् ।

गीतको कोरसमा समावेश गरिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ को अंशलाई दर्शक तथा श्रोताले विशेष रुचाएका छन् । यसले फिल्मप्रति दर्शकको उत्साह अझै बढाएको निर्माण पक्षको विश्वास छ । २४ घण्टामै १० लाख भ्युज प्राप्त भएपछि यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले छोटो समयमै दर्शकबाट पाएको माया र समर्थनले आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । यसले फिल्मलाई बक्सअफिसमा सुरुआती व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमब्याक गर्दैछन् । फिल्मको छायांकनका लागि उनी अमेरिका छाडेर नेपाल फर्किएका थिए । फिल्ममा गणेश उप्रेतीसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राईको अभिनय रहेको छ ।

यसै फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेल ले डेब्यु गर्दैछन् । बाल कलाकारका रूपमा दिप्सन चिलवाल पनि फिल्ममा देखिने निर्माण कम्पनीले जनाएको छ । फिल्मको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक अर्जुन घिमिरे स्वयंको कथामा आधारित फिल्मको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेले संयुक्त रूपमा लेखेका हुन् । फिल्मको छायांकन बुद्ध थापाले गरेका छन् । अनिशा सेन्दाङ लिम्बु निर्माता रहेकी छन् भने अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेका छन् ।

कमेन्ट गर्नुहोस्