देश । नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामी निर्वाचनका लागि पर्वतारोहण विज्ञ फुर गेल्जे शेर्पाले आफ्नो सम्पूर्ण समूहसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। आज काठमाडौँको लाजिम्पाटस्थित होटल शङ्करमा आयोजित पत्रकार सम्मेलनमा शेर्पाले आफ्नो समूहको परिचय गराउनुभयो।
अध्यक्षका उम्मेदवार शेर्पाले आफ्नो समूहको मुख्य नारा ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बर्द्धनका लागि उम्मेदवारी’ रहेको बताउँदै कार्ययोजनासमेत सार्वजनिक गर्नुभयो। उहाँको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा (स्पिडकाजी), द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्रबहादुर लामा, सचिवमा चन्दन थापा र कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पाले उम्मेदवारी दिनुभएको छ।
त्यस्तै, सदस्य पदमा केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, माधवकुमार धमला, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र डंगोल, डोल्मा लामा र निशा भोटेले उम्मेदवारी दर्ता गराउनुभएको छ।
यो समूहले नेपालको पर्वतीय पर्यटन र आरोहीहरूको हितलाई केन्द्रबिन्दुमा राख्दै विभिन्न महत्त्वपूर्ण योजनाहरू अगाडि सारेको छ। ती योजनाहरूमध्ये नेपालमै ‘माउन्टेन टुरिजम युनिभर्सिटी’ स्थापना गर्ने, आरोहीहरूको सुरक्षाका लागि आपत्कालीन उद्धार कोषलाई व्यवस्थित गर्ने र अन्तर्राष्ट्रियस्तरको आरोहण तालिम केन्द्र विकास गर्ने प्रमुख रहेका छन्। यी योजनाहरूले पोखराजस्ता पर्यटकीय क्षेत्रमा पर्यटकको बसाइ अवधि बढाउने अपेक्षा गरिएको छ। नेपाल पर्वतारोहण संघको आगामी निर्वाचन भदौ ७ गते प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ।









