दुई हजार २ सय सहभागीसहित विशाल मेकअप कार्यशाला हुँदै

देश । युथ इको नेपालले मंगलबार भक्तपुरको थिमिमा २ हजार २ सय सहभागीलाई मेकअप सीप सिकाउने उद्देश्यसहित भव्य कार्यशाला आयोजना गर्दैछ । यो कार्यक्रममार्फत संस्थाले एसिया बुक अफ रेकर्डमा नाम दर्ता गराउने तयारी गरेको छ । कार्यक्रम बिहान १० बजेबाट सुरु भई दिनभर चल्नेछ । कार्यशालामा फेस मेकअप, हेयर स्टाइलिङ, छाला परीक्षण, नेल आर्टलगायतका सीप सिकाइने युथ इको नेपालका सचिव सुजन अधिकारीले बताए ।

उनका अनुसार, यो कार्यक्रमले हजारौं युवालाई सीपसँग जोडेर भविष्यमा रोजगारीका अवसर सिर्जना गर्ने आधार बनाउनेछ । युथ इको नेपालका अध्यक्ष आकाश गजुरेलले हरेक शनिबार मेकअप सीप सिकाउने कार्यक्रमलाई निरन्तरता दिइने बताए । यस कार्यशालाका लागि ३ हजार २ सयभन्दा बढीले आवेदन दिए पनि छनोट गरी २ हजार २ सयलाई सहभागी गराइँदैछ ।

कार्यक्रम सञ्चालनका लागि ३० वटा मेकअप स्टुडियो तयार गरिएको छ भने करिब १०० दक्ष प्रशिक्षकले प्रशिक्षण दिनेछन् । आयोजकका अनुसार, एसिया बुक अफ रेकर्डमा दर्ता गर्न आवश्यक सबै प्रक्रिया पूरा भएको छ । नेपालमा यति ठूलो संख्यामा मेकअप सीप प्रशिक्षण पहिलोपटक आयोजना भएको दाबी गरिएको छ । कार्यक्रममा मनोरञ्जनात्मक प्रस्तुति, अनुभव आदानप्रदान र अन्तरक्रियात्मक गतिविधिहरू पनि समावेश हुनेछन् ।

कमेन्ट गर्नुहोस्