खेलकुद । कोपा अमेरिका २०२१ को फाइनलमा आयोजक ब्राजिललाई हराएर र अर्जेन्टिनाले २८ वर्षपछि मुख्य उपाधि जितेको छ। ल्याटिन अमेरिका र विश्व फुटबलमै शक्तिशाली यी दुई टिमको फाइनलमा भेट हुने तय भएपछि नै संसारभरि रहेका उनीहरूका समर्थकहरूबीच कसले जित्छ भन्ने चर्चा चुलिएको थिए। एकातिर ब्राजिल र नेइमारका फ्यान थिए भने अर्कातिर अर्जेन्टिना र लियोनल मेसीका फ्यान थिए। फाइनल खेलको २२ औं मिनेटमा अर्जेन्टिनाका एन्जल डि मारियाले गरेको गोलले अर्जेन्टिनाका फ्यानलाई खुसी दियो। त्यसपछि दुबै टिमले गोल गर्न नसकेपछि उपाधि अर्जेन्टिनाको पोल्टामा पर्यो।
अर्जेन्टिनाले उपाधि उचालिरहदा र मेसीका समर्थक खुसि भइरहदा प्रशिक्षक लियोनल स्कालोनी धन्यवाद दिएका छन् । उनले टीम कप्तान मेसीलाई ब्राजिलसँगको फाइनल खेल चोटका बाबजुद पनि खेलेको खुलासा गर्दै आभार व्यक्त गरेका हुन् । रियो दी जेनेरियोस्थित माराकाना रंगशालामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्कालोनीले भने, ‘मेसीजस्ता खेलाडीविना तपाईंले यस्तो उपाधि कहिल्यै जित्न सक्नुहुन्न, जसले यो र अघिल्लो खेलमा जस्तै पूर्ण रुपमा फिट नहुँदा पनि खेल्न सक्छ ।’ स्कालोनीले मेस्सीले कस्तो चोटको सामना गरेका थिए भन्ने खुलाएनन् ।









