व्यवसाय, समाजसेवा र सङ्गीतको सङ्गम : मेघ

विदेश । मेघ सुवेदी व्यवसायी तथा सामाजिक अभियन्ताका रूपमा परिचित नाम हुन् । केही म्युजिक भिडियोमा मोडलिङ गर्नुका साथै केही गीतसमेत लेखेका सुवेदी १६ वर्षअघि सन् २००७ मा उज्ज्वल भविष्यको सपना बोकेर अमेरिका पुगेका थिए। अमेरिका जाने निर्णय उनका लागि स्वेच्छिक थिएन, भुटानी शरणार्थी शिविरमा रहेका सुवेदी तेस्रो मुलुक पुनर्स्थापनाका क्रममा अमेरिका पुगेका हुन्।

‘पहिचानको खोजी गर्दै अमेरिका पुगियो । नयाँ ठाउँ र नयाँ परिवेशमा आफ्नो पहिचान स्थापित गर्न केही समय लाग्यो । तर, लगनशीलता, मेहनत र इमान्दारीपूर्वक आफ्नो कार्य गरेकै कारण अमेरिका जस्तो देशमा आफ्नै व्यवसाय सञ्चालन गर्न सफल भएँ’, उनले भने।

छोटो समयमै उनले होम केयर, लजिस्टिक्स र रियल स्टेट व्यवसाय सञ्चालन गरिरहेका छन् । अमेरिकाको पेन्सिलभेनियास्थित जेफरसन हिलमा बसोबास गर्ने सुवेदीले स्थानीय एघार सय भन्दा बढीलाई रोजगारी दिएका छन् । व्यवसायसँगै उनी सामाजिक अभियन्ताका रूपमा पनि चिनिन्छन् । उनले ‘स्याडो सपोर्ट फाउन्डेसन’ र ‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ मार्फत विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । नेपाली भाषा पढाउने र प्रवर्द्धन गर्ने काममा समेत उनी सक्रिय छन् । त्यस्तै, स्किल डेभलपमेन्ट तथा व्यक्तित्व विकासका लागि समेत फाउन्डेसनमार्फत सहयोग पुर्‍याइरहेका छन् ।

‘नेपाली भाषासँगै कला र संस्कृति प्रवर्द्धन गर्नु हाम्रो दायित्व हो । साथै, नेपालमा प्राकृतिक विपद्का बेला उद्दार तथा राहत प्रदान गर्ने जस्ता मानवसेवाका कार्य पनि गरिरहेका छौँ । यो हाम्रो दायित्व र कर्तव्य हो’, सुवेदी भन्छन् । किताब पढ्न र लेख्न रुचि राख्ने सुवेदीले केही गीत रचना गर्नुका साथै चारवटा म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनी आफ्ना रचनाहरू गीतका रूपमा सार्वजनिक गर्ने तयारीमा छन् । यसका साथै उनले फिल्मको कथा लेखिरहेका छन् भने त्यसलाई निर्माण गर्ने तयारीसमेत छिटै थाल्दै छन् ।

‘छिट्टै आफ्ना सिर्जनाहरू सार्वजनिक गर्नेछु, यसको तयारी भइरहेको छ’, उनले भने। ‘कर्म गरे धर्म आफैँ हुन्छ, धर्म गरे कर्म छुट्टै गर्नु पर्छ’ भन्ने भाव बोकेका सुवेदी नाम एक भए पनि फरक-फरक विधामा स्थापित व्यक्तित्व हुन् । बुवाआमा, श्रीमती र दुई छोरीसँग अमेरिका बसोबास गरिरहे पनि सुवेदी नेपाल आइपुगेर सामाजिक कार्यमा निरन्तर संलग्न भइरहेका हुन्छन् । यसपटकको नेपाल बसाइँमा उनले म्युजिक भिडिओमा अभिनय समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्