‘बगान हेर्दा रोएँ’ : रमेश

फिल्म । बुधवार बेलुकी काठमाडौँमा आयोजित फिल्म ‘बगान’ को प्रिमियर हेरेपछि अभिनेता रमेश उप्रेतीले आफ्नो आँखा केही दृश्यमा रसाएक बताए । फिल्म हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले फिल्मको विषय, प्रस्तुतीकरण र कलाकारको अभिनयको तारिफ गरे ।

‘म फिल्म हेरेर खासै भावुक हुदिन, तर आज रोएँ । किनकि फिल्म निकै राम्रो बनेको छ । यो हरेक दृष्टिकोणले पूर्ण छ’, अभिनेता उप्रेतीले भने,’कथ्यशैलीसँगै हरेक कलाकार आफूलाई सुहाउँदो भूमिकामा प्रस्तुत छन् । कलाकारितामा प्रेरणा बन्न सफल सरोज खनाल दाईले पहिलो निर्देशकीय फिल्ममा एउटा सर्जकको भूमिका निर्वाह गर्नुभएको छ । यसले मनोरञ्जनसँगै संदेश समेत दिन्छ ।’

अभिनेता उप्रेती झैँ गायिकाद्वय सुनिता दुलाल र देविका बन्दनाले पनि फिल्म हेर्दा आँसु रोक नसकेको प्रतिक्रिया दिए । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाल, प्रमिला कार्की, आकाश श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

तीन दशकको अभिनयको अनुभव संगाल्दै निर्देशक बनेका सरोज खनालले आफू कथावाचक रहेको बताए । उनले भने,’मैले कथा र पात्रलाई भेटाएको मात्र हुँ । काम उहाँहरूले नै गर्नुभएको हो । म आफूले जानेर कहिले पनि परिवारका महिला सदस्यलाई चोट पुर्याउदिन । त्यसैले पनि यो कथालाई पर्दासम्म ल्याएको हुँ ।’

फिल्ममा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतका कलाकारले पनि अभिनय गरेका छन् । स्वप्निल नीरवको कथामा तयार भएको फिल्ममा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रंग संयोजन गर्नुभएको छ । असार २९ गतेबाट प्रदर्शन हुने चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।

कमेन्ट गर्नुहोस्