अर्जेन्टिना सेमिफाइनलमा

खेलकुद । कोपा अमेरिका २०२१ अन्तर्गत आइतबार विहान सम्पन्न क्वाटरफाइनलको खेलमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ । स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न खेलमा इक्वेडरमाथि ३-० को जित निकाल्दै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको हो । कप्तान लियोनल मेसीले फ्रिकिकबाट एक गोल गर्दै अर्को दुई गोलमा सहयोगी भूमिका निभाएपछि अर्जेन्टिनाले कोपा अमेरिकामा सेमिफाइनलको यात्रा तय गरेको हो । अर्जेन्टिनाको जितमा डि पाउल,लाउटारो मार्टिनेज र लिओनल मेसीले एक-एक गोल गरे।

खेलको ४० औँ मिनेटमा डि पाउलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । मेसीले उपलब्ध गराएको पासमा उनले बललाई गोल पोस्टको दिशा दिए। ८४ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्‍यो । मेसीले दिएको पासमा मार्टिनेजले पेनाल्टी एरियाबाट फिनिसिङ गरेका थिए । दोस्रो हाफको इन्जुरी टाइममा इक्वेइडर १० खेलाडीमा सीमित बन्यो । अर्जेन्टिनाका डि मारियालाई फल गरेपछि इक्वेइडरका हिन्कपीलाई रातो कार्ड दिइएको थियो । लगत्तै अर्जेन्टिनाले तेस्रो गोल गर्‍यो । लिओनल मेसीले उनले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए। यो उनको ७६ औं अन्तर्राष्ट्रिय गोल हो ।

यस्तै , सम्पन्न अघिल्लो खेलमा कोलम्बियाले टाइब्रेकरमा उरुग्वेलाई ४–२ ले हराएको थियो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगेपछि खेल टाइब्रेकरमा गएको हो । कोलम्बियाका तर्फबाट भएका सबै चार प्रहार गोलमा परिणत भएका थिए । उरुग्वेका चारमध्ये दुई प्रहार मात्र गोलमा परिणत भएको थियो । अब सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन ब्राजिलले पेरु र अर्जेन्टिनाले कोलम्बियाको सामना गर्नेछ ।

कमेन्ट गर्नुहोस्