देश । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७ सय ४२ जना र २ हजार ५ सय ७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४ सय ३३ जना गरी ३ हजार १ सय ७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय ४९, ललितपुरमा १ सय ८३ र भक्तपुरमा ७७ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै , पछिल्लो २४ घण्टामा कास्कीमा १ सय ९६, मोरङमा ८५, झापामा ७६, रुपन्देहीमा ६७, काभ्रेपलाञ्चोकमा ५१, चितवनमा ५८, तनहुँमा ४०, स्याङ्जामा ३४, दाङमा २९, मकवानपुरमा २६, कञ्चनपुरमा २४, बागलुङमा २२ र बर्दियामा २० र बाँकेमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने २ लाख ६६ हजार ५ सय ४० ले खोप लगाएका छन् । हालसम्म सक्रिय संक्रमितको संख्या ६३ हजार २ सय ९६ रहेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ७ सय २३ जना संक्रमणमुक्त भएका छन् ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९५ हजार ६३ पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ७ सय ७८ पुगेको छ भने ८ लाख ८७ हजार ४ सय ४३ जना संक्रमणमुक्त भएका छन् । हाल ६१ हजार ८ सय ६२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४ सय ३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २ सय ८१ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।









