खोप ल्याउनै अलमल

देश । बेलायतले कोरोना भाइरस विरुद्धको खोपलाई आपतकालीन प्रयोगमा अनुमति दिएर खोप सुविधा सुरु गर्यो । त्यसपछि संयुक्त राज्य अमेरिकाले पनि खोप लगाउन थालिसकेको छ । नेपालको छिमेकी मुलुक भारतमा पनि दुइ खोपले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन् । साथै , भारतले पनि छिटै खोप लगाउने तयारी थालिसकेको छ । किनकी अधिकांस देशहरुले कोरोनाविरुद्धको खोप उत्पादक कम्पनीसँग ‘प्रि–अर्डर’ गरिसकेका थिए वा गरिरहेका छन् । तर , नेपालले भने अझैसम्म प्रि–अर्डर नगर्दा समयमै खोप आउनेमा शंका उब्जिएको छ । नेपाल सरकार कोभाक्स सुविधाकै पर्खाइमा रहँदा खोप आउन ढिलाइ हुने खबर कान्तिपुर दैनिकमा छ ।

पछिल्लो समय विश्वमै कोरोना भाइरसको दोस्रो लहर देखिएको छ । योसँग जुध्नसमेत खोप प्रमुख हतियारका रूपमा उपयोग गर्न सकिने भएकाले समयमै सुनिश्चित नगरे स्थिति जोखिमपूर्ण हुने विज्ञहरूले चेतावनी दिएका छन् । सरकार भने कुल जनसंख्याको २० प्रतिशतका लागि सहुलियत दरमा प्राप्त हुने भनिएको ‘कोभाक्स सुविधा’ अन्तर्गतको खोपमै भर परेको कान्तिपुरमा उल्लेख छ । यद्दपी उक्त खोप सुविधा अन्तर्गत चार महिनाको अवधिमा पहिलो चरणमा करिब ३ प्रतिशत जनसंख्यालाई मात्र पुग्ने गरी आउनेछ ।

स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा खोप लगाउने स्वास्थ्यकर्मीको नामावली संकलन सुरु गरेको छ । स्थानीय तहमार्फत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, कर्मचारी, कार्यालय सहयोगीको नामावली संकलन थालिएको हो ।ठूला अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीको तथ्यांक भने स्वास्थ्य सेवा विभागबाटै संकलन भइरहेको छ । स्थानीय तहले आफ्नो क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वयंसेविकाको विवरण जिल्लास्थित स्वास्थ्य कार्यालयमा पठाउनुपर्ने हुन्छ । स्थानीयबाट आएको तथ्यांकलाई जिल्लाले प्रदेशको सामाजिक विकास मन्त्रालय र संघको स्वास्थ्य सेवा विभागका पठाउनुपर्ने व्यवस्था मिलाइएको छ ।

स्थानीय तहले संकलन गरेको विवरणकै आधारमा खोप दिइने भएकाले आफ्नो नाम समावेश भए/नभएको यकिन गर्न स्वास्थ्यकर्मीहरूलाई विभागले आग्रह गरेको छ । खोप आएको दुई साताभित्रै अग्रभागमा खटिनेलाई खोप लगाइने विभागले अनुमान गरेको छ । स्वास्थ्यकर्मीलाई पहिलो डोज लगाइसकेपछि ५५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाउने योजना सरकारको छ । उनीहरूको नाम मतदाता नामावलीबाट पनि संकलन गर्न सकिने विभागले जनाएको छ । (कान्तिपूर दैनिकबाट साभार)

कमेन्ट गर्नुहोस्