फिल्म । निर्देशक राजबहादुर सानेले साउन २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’ मा कर्णालीको गरिबी बेच्न नभई त्यहाँका समस्याहरूको समाधान खोज्ने उद्देश्यले बनाइएको बताएका छन् । मिडियाकर्मीसँग कुराकानीको क्रममा निर्देशक सानेले सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको यो फिल्म कर्णाली क्षेत्रको कथामा आधारितरहेको जानकारी दिए ।
जुम्लामा जन्मिएका सानेले आफूले तेस्रो पुस्तासम्मको पीडादायी यथार्थ भोगेको र त्यही अनुभवमा फिल्म बनेको बताए । ‘हामीले फिल्ममार्फत गरिबी बेच्न खोजेका होइनौँ । समस्या देखाएर समाधानको बाटो खोज्न चाहेका हौँ । कर्णाली अहिले पनि देशकै विकट क्षेत्र हो । पहिले नुन ल्याउन भेडाको सहारा चाहिन्थ्यो, अहिले बाटोघाटो र कृषि प्रणालीमा सुधार आए पनि चुनौती कायम छन्’, निर्देशक सानेले भने ।
उनले जुम्लाबाट कालिकोट जानु विदेश जानुजस्तै लाग्ने अनुभव सुनाए । उनले ‘सिटामोल’ माओवादी नेपाली सेनामा समायोजनपछि कर्णालीमा उत्पन्न आर्थिक र सामाजिक अवस्थाको चित्रण फिल्म देख्न पाइने बताए । ससश्त्र द्वन्द्वका बेला गाउँका धेरैजसो मानिस विस्थापित भए । समायोजनपछि मानसिक, शारीरिक र सामाजिक स्थायित्व ल्याउन धेरैलाई कठिनाइ भएको उनको भनाइ छ ।
यो फिल्ममा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीले अभिनय गरेका छन् । श्रीकृष्ण र जानुकाले यो फिल्मबाट नेपाली रजतपटमा डेब्यू गरेका छन्।तुल्सी देवी फिल्म प्रालि र जुनतारा फिल्म्सको सहकार्यमा बनेको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् ।
सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता छन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता र गंगाराम श्रेष्ठ सह-निर्माता छन् । बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई कलर, मुकेश शाहको साउ न्ड डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन, विकास तामाङ र धनबहादुर राईको प्रोडक्सन म्यानेजमेन्ट रहेको फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन् ।










