सङ्गीत । नेपालको चर्चित र लोकप्रिय ब्याण्ड मंगोलियन हार्ट पहिलोपटक न्यूजिल्यान्ड टूरमा निस्कँदै छ । सन् १९९२ मा स्थापना भएको यो ब्याण्डले सन् २०२५ को विशेष टूरअन्तर्गत न्यूजिल्यान्डका तीन प्रमुख सहर क्राइस्टचर्च, अकल्यान्ड र टाउरङ्गामा सांगीतिक प्रस्तुति दिने भएको छ । ब्याण्ड न्यूजिल्यान्डमा पहिलो प्रस्तुतिका लागि उत्साहित छ ।
ब्याण्डका म्यानेजर तथा गितारिस्ट बोबी लामाले टूरलाई भव्य बनाउन गहन तयारी भइरहेको बताए । ‘हामी नयाँ र पुराना दुवै गीतहरू प्रस्तुत गरेर दर्शकलाई पूर्ण मनोरञ्जन दिनेछौं । दर्शकको मायाले हामीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याएको छ’, उनले भने । आठ सदस्यीय टोली यही जुलाई २९ मा काठमाडौंबाट न्यूजिल्याण्ड प्रस्थान गर्नेछ ।
यो टूरको आयोजना स्थानीय इभेन्ट कम्पनी ‘सम्बन्ध इभेन्ट्स’ले गरेको छ । ब्याण्डले आफ्ना सुपरहिट गीतहरू जस्तै ‘बाँदलपारिको देशबाट’, ‘मेरो नेपाल’, ‘सुम्निमा’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’, ‘सैलुङ्गे मेला’ आदिको प्रस्तुति दिनेछ । साथै, नेपाली समुदायलाई एकजुट बनाएर सांस्कृतिक उत्सवको माहोल सिर्जना गर्ने लक्ष्य राखिएको छ ।
आयोजकका अनुसार यो टूर नेपाली संगीतप्रेमीहरूका लागि अविस्मरणीय अवसर बन्नेछ । ब्याण्ड अगस्ट १५ मा नेपाल फर्किनेछ र अगस्ट २० मा भारतको मिजोरममा प्रस्तुति दिनेछ । ब्याण्डमा गायक राजु लामा (लिड भोकलिस्ट), बोबी लामा (रिदम गिटार), भूपेन्द्र बज्राचार्य (लिड गिटार), सन्तोष थापा (ड्रम), विनय महर्जन (बाँसुरी), बाबुराजा महर्जन (परकसन–मादल), पवन कपाली (बास गिटार) र निरेन्द्र रञ्जित (साउन्ड इन्जिनियर) छन् ।










