फिल्म । अहान पाण्डे र अनीत पड्डा अभिनीत भारतीय फिल्म ‘सैयारा’ ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । यो फिल्मले नयाँ कलाकार अभिनीत सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्मको रेकर्ड कायम गर्दै सय करोड नजिकको व्यापार गरेको छ । फिल्मले पहिलो दिन भारतमा २२ करोड भारू, दोस्रो दिन शनिबार फिल्मले झन्डै २६ करोड ३५ लाख भारू र तेस्रो दिन आइतबार ३५ करोड ७५ लाख भारूको व्यापार गरेको छ । अर्थात् फिल्मले पहिलो विकेन्डमा ८४ करोडको व्यापार गरेको छ । सोमबार सय करोड नजिक फिल्मको व्यापार हुने अनुमान भारतीय ट्रेड विश्लेषकले गरेका छन् ।
यशराज फिल्म्सको ब्यानरमा बनेको यो म्युजिकल रोमान्टिक फिल्ममा मोहित सुरीको निर्देशन रहेको छ, जसले पहिले ‘आशिकी २’, ‘एक भिलेन’ जस्ता सफल प्रेमकथानक फिल्महरू दिइसकेका छन् । नेपालमा समेत यो फिल्मले सुरुआती व्यापार शानदार गरेको छ । धेरै पछि नयाँ कलाकारको फिल्म हेर्ने नयाँ पुस्ता हल छिरेको वितरक तथा प्रदर्शकले बताएका छन् । नेपालमा पहिलो विकेन्डमा फिल्मले एक करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ ।
फिल्मको बजेट ४५ करोड भारू रहेको बताइएको छ । आम दर्शक र समीक्षकबाट समेत फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । म्युजिक र कथाले दर्शकको मन जित्न सफल भएको भन्दै विशेष प्रशंसा भएको छ । यो फिल्मले नयाँ प्रतिभाहरू अहान पाण्डे र अनीत पड्डाको करिअरको सुरुआतलाई पनि उजागर गरेको छ र बक्स अफिसको यो सफलताले बलिउडमा नयाँ युगको सुरुआत भएको संकेत दिएको छ ।












