‘मन बिनाको धन-२’मा मदनकृष्ण

फिल्म । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘मन बिनाको धन-२’ ले अनुभवी कलाकारहरूको सशक्त टोली तयार पारेको छ । निर्माण पक्षले मंगलबार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, राजाराम पौडेल, रश्मिला तामाङ र निर्मल शर्मालाई औपचारिक रूपमा फिल्ममा अनुबन्ध गरेको जनाएको छ ।

फिल्मको विशेष आकर्षणका रूपमा अभिनेता मदनकृष्ण श्रेष्ठले अभिनयसँगै एउटा गीतमा स्वर पनि दिएका छन् । निर्माण पक्षका अनुसार मंगलबार नै उनको स्वरमा फिल्मको एक गीत रेकर्ड गरिएको हो । फिल्मका लागि सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, किरण केसी, प्रकाश घिमिरे, राम ठाकुर र शंकर श्रेष्ठलगायत अनुभवी कलाकारहरूसँग निर्माण पक्षले सम्झौता गरिसकेको छ ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा निर्देशक टंक बुढाथोकी स्वयंले तयार पारेका हुन् । पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् भने गीतसंगीतको जिम्मेवारी पनि बुढाथोकीकै रहनेछ । फिल्मकी निर्माता विष्णुमाया मैनाली बुढाथोकी हुन् ।

प्राविधिक पक्षमा नरेन्द्र मैनालीको छायांकन रहनेछ भने कविराज गहतराज, रामजी लामिछाने र गम्भीर बिष्टले कोरियोग्राफी गर्नेछन् । द्वन्द्व निर्देशन शुक्रराज शाहले सम्हाल्नेछन् ।

कमेन्ट गर्नुहोस्