फिल्म । नेपाली फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । टिजरमा सपना, संघर्ष, प्रेम र धोकाको कथालाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ । विवाहको दृश्यबाट सुरु हुने टिजरमा मुख्य पात्र विजय बरालको कोरिया जाने सपना केन्द्रमा छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौं पुगेपछि गाउँलेको ठगीमा परेको कथालाई टिजरले उजागर गरेको छ।
कोरिया जाने सपनासहित काठमाडौं आएका विजय कसरी अलमलमा पर्दै गन्तव्यहीन बन्दै गए भन्ने कुरा टिजरमा देखाइएको छ। सामान्य जानकारीविना तय गरिएको गन्तव्यमा पुग्न कति कठिन हुन्छ भन्ने तथ्य टिजरले प्रष्ट्याएको छ । परिवारको दुख कटाउने सपना बोकेर हिँडेको पात्र कसरी दुखको दुष्चक्रमा फस्छ भन्ने कथा टिजरमा समेटिएको छ।
साथै, प्रेम र त्यसको सुखद क्षणहरू पनि टिजरमा देख्न सकिन्छ। टिजरमा विजय बरालसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटालगायतका कलाकारलाई देख्न सकिन्छ। फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गरेका छन्। यो फिल्म भदौ ६, २०८२ मा रिलिज हुने तय भएको छ। फिल्मको सहायक निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन्।
विजय, केकी, मिरुना, भोलाराज र सुशांकसँगै रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको यो फिल्म पेपरक्लिपको ब्यानरमा निर्माण भएको हो। फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् भने कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्।
कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत, नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ। दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक छन् भने तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक छन्। शाहिल खानको टिजर-ट्रेलर, सुप्रिम पराजुलीको रङ संयोजन, सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन निर्देशन र लक्ष्मणराज पौडेलको निर्माण नियन्त्रण रहेको छ।











