आवश्यकता अनुसारकै चलचित्र ऐन बन्छ : मन्त्री गुरुङ

देश । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आजको आवश्यकता अनुसार नै कानुन बनेर आउने बताएका छन् । आज चलचित्र विकास बोर्डद्वारा राष्ट्रपति कार्यालयमा आयोजित ‘राष्ट्रिय फिल्म पुरस्कार तथा सम्मान समारोह’ मा मन्त्री गुरुङले प्रस्तावित विधेयकलाई सबैको सल्लाह र परामर्शमा आजको आवश्यकता अनुसार नै ल्याउने बताएका हुन् ।

उनले भने, ‘अहिले हामीले फिल्म विधेयक प्रस्ताव गरेका छौँ, त्यो ऐन बन्ने प्रक्रियामा अगाडि बढ्दै गर्दा फिल्मकर्मीले खोज्नुभएको जस्तो र आजको आवश्यकता अनुसारकै आउँछ । त्यसमा प्राप्त भएका सबैका सल्लाह अनुसार नै हामी फिल्म ऐन को रूपमा ल्याउने छौँ ।’

उनले फिल्मका माध्यमले नेपालको सुन्दरता, संस्कृति र विविधतालाई प्रचारप्रसार गर्न सकिनेमा जोड दिए । यसका साथै, फिल्मलाई उद्योगको रूपमा बढाउन सकेमा त्यसले कुल ग्राहस्थ उत्पादनमा समेत योगदान दिन सक्ने उनले बताए । बोर्डद्वारा आयोजित उक्त कार्यक्रममा फिल्म दीर्घसाधना सम्मान, फिल्म पुरस्कार प्रदान गर्नुका साथै फिल्म क्षेत्रमा योगदान दिएका १० जनालाई सम्मान र एक जना प्राविधिकलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्