‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ मा यस्तो देखिए भोला

फिल्म । नेपाली फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ले क्यारेक्टर लुक्स सार्वजनिक गर्न थालेको छ । केही दिनअघि मुख्य कलाकार विजय बरालको लुक्स सार्वजनिक गरेको निर्माण पक्षले आज भोलाराज सापकोटा र आरुस भुसालको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ ।

अभिनेता सापकोटा कमिज, स्टकोट र ढाका टोपीमा देखिएका छन् । झुस्स दारीमा रहेका उनको अनुहारमा हल्का तनाव झल्किन्छ । उनका छोरा बनेका आरुस भुसाल झोला बोकेर कपाल मुन्डन गरेको अवस्थामा रातो लुगामा छन् । पसिनाले निथ्रुक्क भिजेको उनको लुगाले संस्कृत भाषा अध्ययनरत पात्रको संकेत गर्छ, जसलाई पृष्ठभूमिका मन्दिरहरूले थप पुष्टि गर्छन् ।

हिमाल न्यौपानेले निर्देशन गरेको यो फिल्ममा केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपाङ्गी मगर, रुपेश लामा, सुमन थापालगायतका कलाकारको अभिनय छ । पेपरक्लिपको ब्यानरमा बनेको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको सङ्गीत रहेको फिल्ममा नवीन गुरुङ र कृष्ण परियारको सिनेमेटोग्राफी छ । भानुभक्त ढकालले कथा, पटकथा र संवाद लेखेका छन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्ममा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक छन् ।

कमेन्ट गर्नुहोस्