धान रोपाइँमा ‘हली’

फिल्म । आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘हली’ को निर्माण टिमले राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको अवसरमा धान रोपेर असार १५ मनाएको छ । सोमबार ललितपुरको सुनाकोठीमा आयोजित रोपाइँ कार्यक्रममा फिल्मका अभिनेता प्रमोद दीप, अभिनेत्री सुजता थापा, विद्या कार्की, संगीतकार बाबुल गिरी तथा निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

फिल्म किसानको जीवन र संघर्षमा आधारित भएकाले सम्पूर्ण टिमले असार १५ को अवसरमा रोपाइँमा सहभागी भएको निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठले बताए । उनीहरूका अनुसार असार १५ ले नेपाली किसानको परिश्रम, आशा र उत्पादनको सुरुवातलाई स्मरण गराउने भएकाले फिल्मको सन्देशसँग पनि यसको गहिरो सम्बन्ध छ ।

रोपाइँमा सहभागी कलाकारहरूले पनि उत्साहपूर्वक हिलोमा धान रोप्दै किसानप्रति सम्मान व्यक्त गरेका थिए । जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको ‘हली’ वास्तविक जीवनका घटनाबाट प्रेरित रहेको निर्माण पक्षले जनाएको छ । समाज र देशमा सकारात्मक परिवर्तन ल्याउन एक जना ‘हली’ पनि पर्याप्त हुन्छ भन्ने सन्देश फिल्मले प्रवाह गर्ने निर्देशक ओम प्रतीकले बताएका छन् ।

ओम प्रतीकको लेखन तथा निर्देशन रहेको फिल्ममा व्यवसायी पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको छ । फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको अभिनय रहेको छ ।

फिल्मका गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष उपस्थिति पनि रहनेछ । फिल्मको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् भने केही गीतमा निर्देशक ओम प्रतीक र कविराज गहतराजको संयुक्त कोरियोग्राफी रहेको छ ।

कार्यकारी निर्माता अर्जुन भुसाल, सह-निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्मचारी र मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेको फिल्मको छायांकन राहुल राईले गरेका छन्। सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन् ।

फिल्मका गीतमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। गीतमा निर्मात्री जश्मिन श्रेष्ठका शब्द पनि समावेश छन्। बाबुल गिरीको संगीत तथा स्वर रहेको फिल्मका गीतमा चर्चित गायिका शान्तिश्री परियारले पनि स्वर दिएकी छन् । कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको ‘हली’ लाई नेशनल सिने ग्रुप प्रालिले नेपालभर वितरण गर्नेछ भने यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।

कमेन्ट गर्नुहोस्