‘नरसिंहाः अवतार’ को प्रतीक्षामा दर्शक, ट्रेन्डिङमा ट्रेलर

फिल्म । अभिनेता राजेश हमालको अभिनयमा कम्ब्याक भनिएको फिल्म ‘नरसिंहाः अवतार’ को ट्रेलर आज काठमाडौँ सुन्धारास्थित सिभिल मल रहेको सिनेमा हलमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ । एक्सन, थ्रिलर, प्रेम र सस्पेन्सको मिश्रण रहेको फिल्मको ट्रेलर सार्वजनिक भएसँगै युट्युबमा तहल्का मच्चाएको छ । ट्रेलरमा देखिएको राजेश हमाल र राज कटुवालको एक्सन दृश्यलाई दर्शकहरूले निकै रुचाउने अनुमान गरिएको छ । पारिवारिक कथालाई पनि समेटिएको यस फिल्मले दर्शकहरूको मन जित्ने निश्चित छ ।

दिवाकर भट्टराईद्वारा लिखित तथा निर्देशित यो फिल्म चन्द्र पन्तको कथामा आधारित छ । फिल्ममा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी तथा राजु थापाको छायाङ्कन रहेको छ । सार्वजनिक भएको १५ मिनेटमै फिल्मको ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुग्न सफल भएको छ, जसले दर्शकहरू यो फिल्मलाई कति आतुरताका साथ पर्खिरहेका छन् भन्ने स्पष्ट हुन्छ ।

फिल्ममा राजेश हमालसँगै नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का र समाइरा थापा लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ।

करण सिंह प्रोडक्सन म्यानेजर रहेको यस फिल्ममा समिर मियाको भीएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा वसन्त अधिकारीको सह-निर्देशन रहेको छ। नेम महर्जनको लगानी रहेको यो फिल्मलाई दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले निर्माण गरेका हुन्। जेठ ९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको ‘नरसिंहाः अवतार’ ले बक्स अफिसमा धमाकेदार ओपनिङ गर्ने अड्कलबाजी गरिएको छ।

कमेन्ट गर्नुहोस्