फिल्म । दसैँमा सर्वाधिक बज्ने गीत मध्यको एक हो ‘रातो टीका निधारमा टलक्क टल्कियो’। अशोक शर्मा निर्देशित ‘अल्लारे’ मा समावेश यहि गीतको टाइटल सापटी लिदै अशोकले नै निर्माण तथा निर्देशन गरेको ‘रातो टीका निधारमा’ को शिर्ष गीत सार्वजनिक भएको छ । दसैँको झल्को दिने गीतमा फिल्मका मुख्य कलाकारहरु अंकित शर्मा र साम्राज्ञी आरएल शाहसँगै सबै दसैँको टीकामा फिचर्ड छन् । झापाको रमणीय स्थानमा छायाँकन गरिएको फिल्मको गीतमा दसैँको माहोला देखिन्छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।
अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर फिचर्ड चर्चित गीत ‘रातो टीका निधारमा’लाई यसफिल्ममा रि-एरेञ्ज गरिएको छ । गीतलाई प्रमोद खरेल र मेलिना राईले गाएका छन् भने यसलाई पहिलेकै संगीतकार शम्भुजित बास्कोटाले तयार पारेका हुन् । किरण शर्मा र कृति शर्माले निर्माण गर्ने यस फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेकोछ ।
पूर्वका विभिन्न स्थानमा छायांकन हुने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । यसमा शम्भुजितसँगै कल्याण सिंहको संगीत रहेकोछ । बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहने फिल्मका गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । फिल्मका लागि सहदेव ढुंगाना, डा. कृष्णहरि बराल र वि. मल्लले गीत लेखेका छन् ।