संगीत । ‘द भ्वाईस अफ नेपाल सिजन २’ मा सहभागीता जनाउदै आफ्नो गायन यात्रालाई आरम्भ गरेका पृथ्वी खनालले यतिबेला चर्चामा रहेको विषय नेपाल र भारतको सीमा विवादलाई समेटेर एउटा राष्ट्रिय भावनाको गीत सार्वजनिक गरेका छन् ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतले आफ्नो भएको दाबी गरिरहेका बेला नेपालले आफ्नो भूमि समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेसँगै सबैले आ–आफ्नै किसिमले खुशी व्यक्त गरिरहेका छन् । पृथ्वीले पनि यस गीत मार्फत आफ्नो देशप्रतिको माया र लगाव देखाएका छन् । पेशाले पनि राष्ट्र सेवक (ईन्पेक्टर) रहेका पृथ्वीले गीत मार्फत आफ्नो देशको लागि जे पनि गर्न तयार भएको भाव व्यक्त गरेको छ ।
‘सरर लिपुलेक’ बोलको यस गीतमा पृथ्वीको आवाज रहेको छ भने गीतको भिडियोमा भने कमेडी च्याम्पियनबाट अर्गानिक कमेडीयन भनेर चर्चामा आएका खड्ग बहादुर पुन अर्थात खबपु फिचर्ड भएका छन् । उनीसँगै भिडयोमा गायक गायक पृथ्वी, डम्बर लगायतका कलाकारलाई देख्न सकिन्छ । यस गीतमा पृथ्वी स्वयम र डम्बर हिमाङको शब्द छ । गीतमा संगीत भने डम्बरले भरेका छन् ।
सञ्चारकर्मी हरि पुन मगरको निर्देशन रहेको भिडियोलाई पिटर गुरुङले छायाकंन र सम्पादन गरेका हुन् । लक डाउनकै समयमा तयार पारिएको यस गीतलाई गायक पृथ्वीले आफ्नै अफिशियल युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।











