‘डान्सिङ वीथ द स्टार नेपाल’ अन्तिम तयारीमा

7 Shares

टिभी । कोरोना भाइरस महामारीका कारण महिनौदेखि घरमै थुनिएर बसेका दर्शकहरुले छिटै लोकप्रिय स्टारहरुको मनोरञ्जनात्मक रियालिटी सो हेर्न पाउने भएका छन् । शो ‘डान्सिङ विथ द स्टार नेपाल’ हिमालय टेलिभिजनबाट प्रसारणको अन्तिम तयारी भइरहेको छ । ‘हामीले सबै तयारी सकिसकेका थियौं तर लकडाउन भएपछि सुटिङ रोक्नुपरेको थियो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने–‘सरकारले तय गरेको गाइडलाइन फलो गर्दै हामी सुटिङको तयारीमा जुटेका छौं ।’

२६ श्रृङखलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एक एक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिन्छन् । हरेक साता हुने भोटिङबाट एलिमिनेसन हुने छ । ‘लकडाउनका बेला पनि सुटिङ गर्न सकिने गरी बीबीसीले नयाँ गाइडलाइन बनाएको छ’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले भन्नुभयो– लकडाउनकै बीचमा २७ वटा मुलुकमा डान्सिङ विथ द स्टार सुटिङ र प्रसारण भइसकेको हुँदा हामीले पनि त्यसैलाई पछ्याने निधो गरेका छौं ।’

नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका र सुरक्षाका उपायसम्बन्धी गाइडलाइनको पूर्ण परिपालना गरी अभ्यास र सुटिङ गरिने कँडेलले जानकारी दिनुभयो । ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो को रुपमा परिचित छ । दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन् । बिजेताले कुल २५ लाख (करसहित) नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन । हिमालय टेलिभिजन एचडीले ‘द भ्वाइस अफ नेपाल’ ‘द भ्वाइस अफ नेपाल किड्स’ ‘हिमालय रोडिज’ ‘नेपाल्स नेक्स्ट टप मोडल’ जस्ता बिश्वचर्चित रियालिटी सोहरु प्रसारण गर्दै आइरहेको छ । डान्सिङ वीथ द स्टार्स प्रसारण सुरु भएसँगै भ्वाइस अफ नेपाल सिजन ३ को डिजिटल अडिसनसमेत सुरु हुने कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्