फिल्म । निर्देशक दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘के घर के डेरा : घर नं २’को प्रिमियर सम्पन्न भएको छ । केही फरकपन अपनाएर गरिएको प्रिमियरमा सर्वसाधारण दर्शकसहित कलाकार, पत्रकार र निर्देशकको उपस्थिति थियो । सामान्यतया प्रिमियरमा कलाकार, पत्रकार तथा चलचित्रकर्मीहरूलाई मात्र निमन्त्रणा गरिँदै आएको परिपाटी तोड्दै, निर्माण टिमले यसपटक १ सय ८० जना सर्वसाधारण दर्शकलाई र्याण्डम रूपमा निमन्त्रणा गरेको थियो । ती दर्शकसँगै बसेर कलाकार तथा निर्देशकले फिल्म हेरेका थिए ।
निर्माणपक्षले १ सय ८० रेन्डम दर्शकलाई प्रिमियरमा निम्तो दिएको थियो । प्रिमियरमा फिल्म हेरेपछि तीनै सर्वसाधारण दर्शकसँग प्रतिक्रिया लिएका थिए । आम सर्वसाधारण अडियन्सको रिभ्यु कस्तो आउँछ भनेर बुझ्न सर्वसाधारण दर्शकलाई प्रिमियरमा बोलाइएको थियो । प्रायः नेपाली फिल्मको प्रिमियरमा कलाकार, पत्रकार र आफन्तलाई बोलाउने प्रचलन छ । यो मान्यतालाई भत्काउँदै नर्मल अडियन्सलाई बोलाएर प्रिमियरमा फिल्म देखाइएको हो ।
प्रिमियरपछि फिल्म हेर्ने दर्शकले ‘के घर के डेरा : घर नं २’ को तारिफ गरेका छन् । आम नेपाली नागरिकले हेर्नै पर्ने फिल्म भनेका छन् । घरभेटी र डेरावालमात्रै नभएर आम नागरिकको कथा फिल्ममा रहेको उनको उनीहरूले रिभ्यू दिएका छन् ।
अभिनेता हरिवंश आचार्यले फिल्मको प्राविधिक पक्षको खुलेर तारिफ गरे । ‘टेक्निकल्ली धेरै राम्रो छ, कलाकारहरूको अभिनय उत्कृष्ट छ । मध्यमवर्गीय जीवन र आर्थिक सङ्घर्षलाई निकै प्रभावकारी रूपमा देखाइएको छ’, उनले भने ।
अभिनेत्री स्वस्तिमा खड्काले फिल्म ‘फेमिली भ्यालुज’मा आधारित रहेको बताउँदै भनिन्, ‘फिल्म मनछुने छ । सहज रूपमा हेर्न मिल्ने र भावनात्मक रूपमा जोडिन सकिने खालको छ ।’
अभिनेत्री मनिषा कोइरालाले चलचित्रको कथा आफ्नो मनमा गहिरो छाप परेको बताइन् । “मर्मस्पर्शी कथा छ । कथाको पीडा आफूले नभोगे पनि त्यो अनुभूति गर्न सकिन्छ,” उनले भनिन् ।
गायिका अन्जु पन्तले फिल्ममा देखाइएको सम्बन्धको महत्व र दुःख सामना गर्ने तरिकाको खुलेर प्रशंसा गरिन् । ‘कहिले हाँसाउने, कहिले भावुक बनाउने फिल्म हो । सम्बन्ध जोगाउने सन्देश विशेष मन पर्यो’, उनले भनिन्। नर्मल अडियन्सको उत्साहजनसक प्रतिक्रियासँगै निर्माण टिम उत्साहित भएको छ ।
निर्देशक खनालका अनुसार प्रिमियरमा सर्वसाधारण दर्शकलाई समावेश गर्नुको उद्देश्य फिल्म जस्तो छ, त्यस्तै प्रतिक्रिया सुन्ने हो । ‘हामी चाहन्छौं फिल्म राम्रो लागे अरूलाई भन्नुहोस्, नराम्रो लागे सुधार गर्न सुझाउनुहोस्’, उनले भने । अभिनेता खगेन्द्र लामिछानेले दर्शक [प्रतिक्रिया महत्वपूर्ण रहेको बताए । अभिनेता आर्यन सिग्देलले फिल्म सबैलाई मन परेको महसुस गरेको बताए ।
‘के घर के डेरा : घर नं २’ भोलिबाट रिलिज हुँदैछ । यसको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो । फिल्ममा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा कृष्णबहादुर थापाको छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।










