फिल्म । आजदेखि प्रदर्शन भएको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ प्रदर्शनमा आएको छ । यो फिल्मको रिलिजको पूर्वसन्ध्यामा आयोजना गरिएको प्रिमियर शोमा फिल्म हेरेर निस्कँदै गर्दा अधिकांश पाहुनाले लिम्बु संस्कृतिमा आधारित फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए । उपेन्द्र सुब्बा निर्देशित यो फिल्मले माओवादी युद्ध ताका कसरी संस्कृति संकटमा परेको थियो भन्ने पक्षलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको प्रतिक्रिया उपस्थित पाहुनाको थियो ।
यो फिल्म हेर्न निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, रौनक विक्रम कँडेल, अर्जुन कुमार, निर्देशक दीपक प्रसाद आचार्य (काकु), अभिनेता आयुष्मान देशराज जोशी, दिव्यदेव, विपिन कार्की, अभिनेत्री अरुणा कार्की, पूजा चन्द, केकी अधिकारी र ‘जारी २’ टिमबाट निर्देशक उपेन्द्र सुब्बा, निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, अभिनेता दयाहाङ राई, विजय बराल, अभिनेत्री मिरुना मगर र ऋचा शर्मा बिग मूभिज पुगेका थिए ।
विशेषगरी अभिनेत्री मिरुना मगरको लिम्बु संस्कृति झल्किने ड्रेसअपले सबैको ध्यान खिचेको थियो । यो फिल्म हेर्न उपसभामुख इन्दिरा राना मगर पनि पुगेकी थिइन् । उनले फिल्म हेरिसकेपछि मिडियासँग प्रतिक्रिया दिँदै भनिन्, ‘मैले जारीको पहिलो भाग पनि हेरेकी थिएँ । आज दोस्रो भाग पनि हेर्न पाएँ । निकै खुशी लाग्यो । यो फिल्मले राम्रो सन्देश दिएको छ । त्यसमाथि पहिलो भागको तुलनामा फरक कालखण्डको सेटअपमा निर्माण गरिएको छ । जसलाई निर्देशकले सुन्दर ढंगले पस्किनुभएको छ । मलाई मन पर्यो । दर्शकलाई पनि मन पर्नेछ । सबैले एक पटक हेर्नुहोला ।’
आजबाट विश्वव्यापी प्रदर्शनमा आएको फिल्मले नेपालमा उच्च शो सहित आक्रामक व्यापार गर्ने देखिएको छ । विशेषगरी पूर्वी नेपालका हलमा फिल्मको व्यापार आक्रामक देखिएको छ । उपेन्द्र सुब्बा लिखित तथा निर्देशित फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।
फिल्ममा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ । फिल्ममा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।













