फिल्म । फागुन ११ गतेदेखि प्रदर्शन हुने नेपाली फिल्म ‘गोर्खा वारियर’ हेरेका दर्शकले बेलायतमा प्रसिद्ध गोर्खा घडी पाउने भएका छन् । फिल्म हेर्ने दर्शकलाई लक्षित गर्दै केही हलले विभिन्न प्रतियोगिता र फिल्म हेरेका दर्शकको टिकेटमार्फत उक्त पुरस्कार दिन लागेका हुन् । गोर्खालीलाई वीरताको गाथालाई समेटिएको फिल्म हेरेका दर्शकले टिकेट पछाडि आफ्नो नाम र नम्बर लेखेर हलमा राखिएको लक्की ड्र बक्समा राख्नु पर्नेछ ।
निर्देशक मिलन चाम्सले गोर्खालीको फिल्ममार्फत गोर्खालीले विश्वमा प्रसिद्धी कमाएको घडी दिन लागिएको बताए । ‘हाम्रो ब्राण्डलाई विश्वमा तारिफ गरिन्छ । त्यसैले हामीले उपहार स्वरूप यो घडी दर्शकलाई दिदैछौँ’, निर्देशक चाम्सले भने ।
वितरक करण श्रेष्ठले उक्त पुरस्कारको बारेमा विभिन्न चलचित्र भवनले आफ्नो सोसल मिडियामार्फत जानकारी दिईरहेको जानकारी दिए । ‘हामीले दर्शकलाई फिल्मको तर्फबाट उपहार स्वरूप गोर्खा घडी दिन लागेका हौँ । यसका लागि हलले संचालन गर्ने क्विजसँगै लक्की ड्रमा सहभागी हुनु पर्नेछ’, वितरक श्रेष्ठले भने । सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा केन्द्रीत फिल्ममा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय रहेको छ ।
पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालमा फागुन ११ मा प्रदर्शन हुँदैछ । उनले फिल्मलाई वास्तविक युद्धको शैलीमा तयार गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए । ‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु’, निर्देशक चाम्सले भने ।
नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । यसमा सुमन राई र सुस्मिता वाइवा निर्माता छन् । यस्तै, कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् । फिल्मको एसोसिएट वितरकमा रीच इन्टरटेनमेन्ट रहेको छ ।









